सरकार र राष्ट्र बैंक अर्थतन्त्रको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको र छिट्टै यसको समाधानको उपाय निस्कने बताएका छन्।

नुवाकोट उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘मैले हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा अध्यक्षको रूपमा पदभार ग्रहण गर्दै गर्दा मेरो केही प्राथमिकताहरू उल्लेख गरेको थिएँ। त्यसमध्ये वर्तमान आर्थिक समस्याका समाधान उच्च प्राथमिकतामा रहेको छ।’

‘यसबारेमा हाम्रो नयाँ कार्यसमितिले अर्थमन्त्रीज्यू, नेपाल राष्ट्र बैंकका गभर्नरज्यूलाई भेटेर यसको समाधानका उपायबारेमा छलफल गरिसकेका छौं। आज मात्रै पनि प्रधानमन्त्रीज्यूसँग यसबारेमा थप छलफल गर्ने कार्यक्रम तय भएको छ। हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं। अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ। यसको समाधानको उपाय छिट्टै आउने विश्वास हामीलाई छ,’ ढकालले भने।

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए।

उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए।

‘तपाईंहरूले यहाँका सम्भावित परियोजनाहरू छनोट गर्नुहोस्। यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ। म व्यक्तिगत रूपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रूपमा यहाँहरूसँग सहकार्य गर्न तयार छु,’ उनले भने।

उनले नुवाकोट उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामनासमेत दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *