भुटानी शरणार्थी प्रकरण

पूर्व गृहमन्त्री खाण र सहयोगी केसी निवासबाटै पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्।

खाणलाई बुधबार बिहान घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरीको विशेष टोलीले उनकै निवासबाट पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले पर्दाफाससँग यसको पुष्टि गरेका छन् ।

अनुसन्धान टोलीले खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरेको छ। केसी गृहमन्त्रीका सहयोगीका रुपमा सक्रिय रहेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। यद्यपी त्यो अडियोको जाँच चलिरहेको छ । पुष्टि भएको छैन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबारमात्रै थप दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन्। यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरू पनि यस प्रकरणमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिए।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या दश पुगेको छ।

प्रहरीले यसअघि पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ र नेकपा ९एमाले० का सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।

टोपबहादुर भने फरार छन्। मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सातदोबाटोस्थित उनको घरमा खानतलासी गरेको थियो।
हिरासतमा रहेका अभियुक्तहरूको बयानको आधारमा एकपछि अर्को गरी उच्चपदस्थहरू तानिनेक्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर