धादिङमा ग्राहकको हत्यापछि स्थानीयले जलाए होटल सञ्चालकको गाडी, सडक पनि अवरुद्ध

धादिङको गल्छी गाउँपालिका-८, गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या भएपछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय बासिन्दाले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गए रातिदेखि नै गल्छी-नुवाकोट-त्रिशूली सडकखण्ड अवरुद्ध गरेका थिए भने होटल सञ्चालकको गाडीसमेत जलाएका छन् ।

बुधबार बेलुका खाजा खान गएका गल्छी-८, कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’ का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका थिए । घटनापछि फरार भएका हत्या आरोपित पाण्डेलाई राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए ।

खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्ने बेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिने क्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थिङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर