नक्कली शरणार्थी प्रकरण अनुसन्धानले प्रहरीको साख फर्किंदै

विगतमा ‘निर्मला पन्त प्रकरण’, ‘साढे ३३ किलो सुन तस्करी प्रकरण’ लगायत प्रकरणका कारण प्रश्नचिह्न उठिरहेको नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिलाई कारबाहीको दायरामा ल्याएपछि यतिबेला चौतर्फी प्रशंसा सुरु भएको छ । राजनीतिक नेतृत्व तथा उच्चपदस्थ कर्मचारीको संलग्नतामा ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहका मतियार एकपछि अर्को पक्राउ पर्न थालेपछि प्रहरीको फेरि साख फर्किएको हो ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले यतिबेला अनुसन्धानको क्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पक्राउ गरेको छ । एमाले नेता तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी भने फरार छन् ।

यस्ता ठूला प्रकरणमा बाहिरी प्रभाव, हल्ला र दबाबका कारण प्रहरी अनुसन्धान नै प्रभावित हुने विगतका थुप्रै उदाहरण छन् । निर्मला पन्त हत्या प्रकरण यस्तै एउटा उदाहरण हो, जसमा घटना धेरै गिजोलिँदा अनुसन्धान गर्ने प्रहरी अधिकारीको नै डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा भने हालसम्म टोपबहादुर रायमाझीको हकमा बाहेक प्रहरीले संयमित हुँदै अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेको छ । प्रहरीले अब यस प्रकरणमा कसरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँछ, कसैको प्रभावमा परेर मुद्दालाई कमजोर बनाउँछ कि बनाउँदैन भन्ने आधारले उसको सफलता निर्धारण गर्नेछ ।

यस प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर, उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसी, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको भूमिका महत्वपूर्ण देखिएको छ । हालसम्म आईजीपी कुँवर र एआईजी ज्ञवालीको कमाण्डरको भूमिका उल्लेखनीय छ । एसएसपीद्वय कार्की र केसीले पनि यस अनुसन्धानमा सफलतापूर्वक भूमिका निर्वाह गरिरहेका छन् ।

पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण प्रहरीमा समस्या छ । आईजीपीलगायतका उच्च पदमा सरुवाबढुवाको क्रममा ठूलो चलखेल हुने गरेको छ । पदका लागि राजनीतिक शक्तिसामु प्रहरी अधिकारीले पनि जस्तोसुकै प्रतिबद्धता गर्दा प्रहरीको साख गिर्दै गएको थियो । प्रहरीमै पनि काम नगरी शक्तिकेन्द्रको चाकडी गर्नेहरु अगाडि आउँदा इमानदार, व्यावसायिक र सक्षम अधिकारी ओझेलमा परेका छन् । प्रहरीको त्यो छविलाई सुधार्न पनि यो प्रकरणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने भएको हो ।

आईजीपी कुँवरको नियुक्तिताका प्रहरीका अवकाश प्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारीले नयाँ आईजीपीको नियुक्ति प्रक्रिया स्वाभाविक रहेको र विगतमा जस्तो कुनै विवाद नदेखिएकाले काम गर्ने अवसर रहेको बताएका थिए । त्यसैले यसअघिको नेतृत्वले जस्तो तस्बिर मात्र झुन्डाउने नभई रणनीतिक योजना बनाएर काम गर्न सुझाव उनले दिएका थिए । प्रहरीमा ‘राजनीतिक नेतृत्वको मुसा प्रवृत्ति’ ले प्वालैप्वाल पारेको र त्यसलाई टाल्नका लागि प्रहरी नेतत्वले आँट गर्नुपर्ने र त्यसअनुसार रणनीतिक योजना बनाउनुपर्नेमा भण्डारीको जोड थियो ।

‘प्रहरी अहिले नेतृत्वमुखी होइन, शक्तिकेन्द्र र राजनीतिमुखी भइरहेको छ । गृहमन्त्री नै आईजीपी जसरी गतिविधि गरिरहेका छन् । यसलाई अन्त्य गर्ने विषय आईजीपीको प्राथमिकता हुनुपर्छ,’ उनले भनेका थिए । यिनै सुझावलाई कार्यान्वयन गर्ने दिशामा आईजीपी अघि बढेको देखिन्छन् ।

विभिन्न नेताहरुले पनि यस प्रकरणमा खुट्टा नकमाउन आग्रह गरिरहेका छन् । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन निष्पक्ष रूपमा अघि बढाउन प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा संलग्नहरूमाथि भइरहेको छानविनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास नहोस् । कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दाेषहरु नपरून् । कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दाेष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निक्र्योल हुन सकोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, ‘प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाओस् । यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्,’ उनले भनेका छन्, ‘यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानविनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर