प्रहरीलाई बलियो बनाएर अघि बढ्ने मन्त्रालयको रणनीति छ : गृहसचिव भट्टराई

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलकोन भ्रमण गरेका छन्। गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा नियुक्त भएपछि भट्टराईले पहिलो पटक प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेका हुन्।

सो क्रममा उपस्थित प्रहरी कमचारीहरूलाई निर्देशन-सम्बोधन गर्दै सचिव भट्टराईले प्रहरी संगठनलाई मजबुत बनाउने मन्त्रालयको रणनीति रहेको बताए।

उनले मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु।’

प्रहरी कर्मचारीले राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा आफू विश्वस्त रहेको पनि सचिव भट्टराईले उल्लेख गरे।

प्रहरीले नागरिकसमक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उनले बताए। प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित, पीडित, कमजोर एवं पहुँचविहीन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवं थप क्रियाशीलता बढाउनुपर्नेमा उनको जोड थियो।

गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित हुनुपर्ने उनले बताए। आर्थिक-सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा प्रहरी कर्मचारीलाई एकजुट हुन उनले आग्रह गरे।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसात गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए।

गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गरे। नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन उनले निर्देशन दिए।

प्रहरी संगठन आफैंमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भने, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरणविपरीत काम गर्न छुट छैन। तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको शृंखलाअनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु।’

मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र वितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरुरी रहेको उनले बताए।

साथै उनले सरुवा, बढुवा, पदस्थापनालगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्नेजस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरुत्साहित गरिने बताए। संगठनमा स्थापित आदेशको शृंखलाअनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने उनले बताए।

महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उनले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए। सार्वजनिक सम्पत्तिको तोडफोडलगायत अवाञ्छित, अराजक र उच्छृंखल गतिविधिलाई निरुत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउनसमेत निर्देशन दिए।

सो अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आभारसहितको मन्तव्य व्यक्त गरे। उनले गृहसचिवबाट प्राप्त अत्यन्तै महत्त्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्ण रूपमा ऐक्यबद्ध भई अक्षरशः पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी महानिरीक्षक कुँवरले संगठन सुदृढीकरणका लागि आन्तरिक शुद्धीकरणलाई प्रस्थानविन्दु बनाउँदै जनमैत्री एवं प्रविधिमैत्री प्रहरी विकास र प्रहरी कार्यसम्पादन गुणस्तर अभिवृद्धि एवं प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने बताए। संगठनको समग्र छवि उचो राख्नेलगायतका विषयलाई प्राथमिकतामा राखी संगठनको दुई वर्षीय कार्ययोजना निर्माणको प्रक्रियामा रहेको उनले जानकारी गराए।

प्रणालीगत व्यवस्थापन सांगठनिक विकासको आधारशिला भएको चर्चा गर्दै संगठनको प्रत्येक सदस्यले व्यावसायिक क्षमता प्रदर्शन गर्न सक्ने वातावरणको निर्माण गर्दै योग्यता र कार्यसम्पादन लक्षित कार्य पद्दती निर्माण गर्न संगठन पूर्ण दृढ रहेको उनले बताए।

अपराध रोकथाम एवं घटित अपराधको प्रभावकारी अनुसन्धान, सामाजिक विकृतिको नियन्त्रण र सेवा प्रवाहमा जनअपेक्षाअनुरूपको कार्य सम्पादनको लागि सुदृढ प्रहरी संयन्त्र आजको आवश्यकता रहेको उल्लेख गरे। प्रहरी महानिरीक्षक कुँवरले नागरिक सुरक्षाको प्राथमिक दायित्व बोकेको नेपाल प्रहरीलाई सुदृढ कार्यसम्पादनको लागि उपयुक्त रणनीतिसहित प्रविधि एवं साधनयुक्त बनाउन नेपाल सरकार र तालुक मन्त्रालयबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

निर्देशन–सम्बोधन कार्यक्रमअघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव भट्टराईसमक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्यांक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *