भारतमा प्रतिबन्धित चरमपन्थी संगठन पीएलएफआईका प्रमुख नेपालबाट पक्राउ

भारतमा प्रतिबन्धित चरमपन्थी संगठन पिपुल्स लिबरेशन फ्रन्ट अफ इण्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोप नेपालबाट पक्राउ गरेकाे भारतीय सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् ।

झारखण्ड प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गोप नेपालबाट पक्राउ परेको भारतीय अधिकारीहरूले आइतबार सार्वजनिक गरेका हुन् ।

गोपलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) र झारखण्ड प्रहरीको संयुक्त कारबाहीमा नेपालबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पीएलएफआई प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी-माओवादी (सीपीआई-माओवादी) को विभाजित समूह हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको नाममा ३० लाख रुपैयाँको इनाम घोषणा गरिएको थियो जसमध्ये २५ लाख रुपैयाँ झारखण्ड प्रहरी र ५ लाख रुपैयाँ एनआईएले घोषणा गरेको हो।

डिसेम्बर २०२० मा झारखण्ड प्रहरीले पीएलएफआईका प्रमुख गोपसहित सात जनाको नाममा इनाम घोषणासहित तस्बिर सार्वजनिक गरेको थियो।

सोही वर्षको जुलाईमा एनआईएले दिनेश गोपका दुई श्रीमती शकुन्तला कुमारी र हीरा देवी, जयप्रकाश सिंह भुइया, अमित कुमार र फुलेश्वर गोपेविरुद्ध २५.३८ लाख रुपैयाँ जफत गर्ने सम्बन्धमा विशेष अदालतमा पूरक आरोपपत्र दर्ता गरेको थियो।

नोटबन्दीपछि दिनेश गोपले पेट्रोल स्टेशन अपरेटरमार्फत एसबीआई राँचीको बेदो शाखामा चन्दाबापत जम्मा गरिएको २५.३८ लाख नगद जम्मा गर्ने प्रयास गरेका थिए। उक्त घटनामा सन् २०१६ नोभेम्बर १० मा अपरेटरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।

गोप नेपालमा भेष बदलेर लुकेर बस्दै आएकाे दाबी गरिएको छ। उनले पञ्जाबीको भेषमा रहेर नेपालबाट आफ्ना गतिविधि सञ्चालन गरेको भारतकाे दाबी छ।

उनीविरुद्ध पछिल्ला दुई दशकदेखि झारखण्डका विभिन्न राज्यमा आतंक मच्चाएको आरोप छ।

हत्या र चन्दा असुलीका साथै उनीमाथि आतंकवादीलाई आर्थिक सहयोग गरेको पनि आरोप छ। प्रहरी स्रोतका अनुसार झारखण्डका विभिन्न प्रहरी थानामा उनीविरुद्ध १५० भन्दा बढी मुद्दा दर्ता छन्।

गोपको समूहविरुद्ध झारखण्ड प्रहरीले कैयौं पटक मुठभेड गरेको थियो। तर, उनी हरेक पटक भाग्न सफल भएका थिए।

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर