नक्कली भुटानी शरणार्थी प्रकरण

स्याबास प्रहरी ! अब न्यायालयलाई धन्यवाद भन्न पाइयोस्

#ठोकोताली

नेपाल प्रहरीका दुई आँटिला वरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टर मनोजबहादुर केसी (पीएचडी) र दानबहादुर कार्कीले सायदै सोचेका थिए होलान्– कुनै दिन एउटा ठूलो राजनीतिक दलका प्रभावशाली नेता, उपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई यसरी पक्राउ गरौंला । तर प्रहरीको अनुसन्धानको सूई घुमेकै आधारमा नभएर अदालतमा कागज बोल्ने भएपछि एकपछि अर्को उच्चपदस्थलाई पक्राउ गर्न दुबै एसएसपी हिचकिचाएनन् ।

उनीहरुका कमाण्डर प्रहरी महानिरीक्षक वषन्तबहादुर कुँवर र सह–कमाण्डार अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको निर्देशन र साथमा दुबै अधिकृतले कानूनको अक्षरस पालना गरे, गराए । अनुसन्धान एकपक्षिय भएको कोठे, चौटे र रेष्टुरे तथा बेकम्फुसे वा बचाउका लागि खपत भएका शब्द बाहेक कहिकतै सुनिएन् । कसैले आधार र प्रमाणसहित केही आरोप वा आक्षेप लगाउन पाएन, सकेन ।

 

नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यस प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च पदस्थहरूसमेत मुछिएका छन् । भने केही पक्राउ परेका छन् ।
अब सबैको नजर न्यायालयमा अडेको छ । न्यायालयले आफूसमक्ष पेस भएको प्रमाणलाई नै अन्तिम आधार मान्ने हो । तर, आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यविरुद्धको अपराधमा पीडितको बयान पनि सबैभन्दा ठूलो प्रमाण हो । यसअघि भएका ठूलाठूला घटना र भ्रष्टाचारमा प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गर्दा प्रमाणको कमी तथा अन्य प्रभावले उच्चपदस्थहरुले उन्मुक्ति पाउँदै आएका थिए । त्यो अवस्था यो प्रकरणमा पनि देखिन सक्छ । त्यसकारण राजनीतिक इतिहासमा नै ठूलो महत्व राख्ने यो नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायालयको कारबाही सबैको चासोमा रहनेछ ।

आफ्नै पूर्वगृहमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याएका यी प्रहरीसहित समग्र प्रहरी संगठनमा नै चौतर्फी प्रभाव र दबाब देखिएको थियो । तर, उनीहरुले आफ्नो अनुसन्धानलाई प्रभावित हुन नदिई यो प्रकरणलाई अदालतसम्म पु¥याउन सफल भएका हुन् ।

प्रहरीले उच्च पदस्थसमेत संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । झण्डै दुई महिना लामो अनुसन्धानपछि तयार प्रतिवेदन प्रहरीले सोमबार दिउँसो बुझाएको हो ।

यसबीचमा प्रहरीले पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च अधिकारीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रमुख दलहरु कांग्रेस, एमालेकै अधिकारीहरु संलग्न भएकाले पनि सरकार पनि कारबाहीको विषयमा असमञ्जसमा परेको थियो । प्रहरीमाथि पनि निरन्तर दबाब बढिरहेको थियो । तर ती चुनौतीलाई पार गर्दै यो प्रकरणको छिनोफानोको टुंगो अदालतमा पुगेको हो ।

 

प्रहरीका अनुसार ३३ जना संलग्न रहेको यस प्रकरणमा राज्यविरुद्ध अपराधसहित ठगी, संगठित अपराध र कीर्ते कसुरमा मुद्दा चलाउन सिफारिस गर्दै प्रतिवेदन बुझाइएको छ । प्रहरीले हालसम्म पक्राउ परेका १६ सहित अन्य १७ जनालाई फरार करार गर्दै उनीहरुविरुद्ध कम्तीमा चार मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो ।

यस प्रकरणमा संलग्न गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरेको अनुमान गरिएको छ । १०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ । भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो ।

त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यस प्रकरणमा हालसम्म पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव (उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्च पदस्थहरू पक्राउ परेका छन् ।

यस्तै ठगीमा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, पूर्वगृहमन्त्री थापाको सुरक्षा सल्लाहकार राईका छोरा नीरजलगायत फरार छन् ।

पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।

अब सम्मानित अदालत र इजलासमा बस्ने माननीय तथा सम्माननीय ज्यूहरूले निष्पक्ष र प्रमाणसहित ‘चित्तमा लागेर’ न्याय गरे आफैंले ल्याएको लोकतन्त्रबाट ‘दास’ बनेका नागरिकले पनि धन्यवाद भन्थे ।

श्रीमान्, यो अवसर र मौका हो, धन्यवाद बटुलौं । जसरी प्रहरीकाे गिर्दाे साख माथि उठेको छ, अब पालो न्यायालयको ।
होइन त, कि कसो त ?

#ठोकोताली

प्रतिक्रिया

One thought on “स्याबास प्रहरी ! अब न्यायालयलाई धन्यवाद भन्न पाइयोस्

Leave a Reply to Kul bdr Resmi Cancel reply

Your email address will not be published. Required fields are marked *