विराटनगरमा गहना पसल सञ्चालकको घरबाट ६१ लाखको सुन-चाँदी चोरी, तीन जना पक्राउ

विराटनगरमा चाेरी गरेकाे सुन-चाँदीसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन्।

जेठ ३ गते राति विराटनगर-३, पीपलचोकस्थित जयकिशोर चौधरीको घरबाट सुन-चाँदी चोरी गरेका उनीहरूलाई प्रहरीले एक हप्ताको सूक्ष्म अनुसन्धान र निगरानीपछि पक्राउ गर्न सफल भएको हो।

पीडितका अनुसार उनीहरूले २० तोला सुन (अन्दाजी मूल्य २० लाख) र ३६ किलोग्राम चाँदी (अन्दाजी मूल्य ४१ लाख) गरी जम्मा ६१ लाख रुपैयाँ बराबरको सुन-चाँदी चोरी गरेका थिए।

पीडित जयकिशोर चौधरी र खाँ ज्वेलर्सका सञ्चालक ज्योतिप्रसाद खाँले सुन-चाँदीको कारोबार अन्तर साझेदारीमा गर्ने गरेका थिए जस कारणले उक्त सामानहरू जयकिशोर चौधरीको घरमा राख्ने गरिएको थियो।

पक्राउ परेका तीनै जना छिमेकी रहेको र उनीहरूले पहिलेदेखि नै चोरीको काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पटक-पटक चोरी मुद्दामा पक्राउ परिसकेका उनीहरूलाई लगातार ७ दिनको अनुसन्धान र निगरानीपछि बुधबार राति प्रहरीले विराटनगर-१२, कोशी प्रोजेक्टस्थित सडकखण्डबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरू दुईवटा कालो भिर्ने ब्यागमा चाँदीको सामान बोकेर भारत जाने क्रममा पक्राउ परेका हुन्।

उनीहरूले चोरी गरेको सुन भारतको जोगवनीमा ७ लाख रुपैयाँमा बेचेको अनुसन्धानबाट थाहा भएको छ। उनीहरूका साथबाट ३५ केजी (२९९८.४५ तोला) चाँदी र ८ ग्राम सुन बरामद भएको छ।

यो समूहले विगतदेखि नै योजनाबद्ध ढंगले यसरी सुन-चाँदी चोरी गरेर भारतमा लगी बिक्री गर्ने गरेको पाइएको छ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको ७ जना प्रहरी अधिकृतको टोली पुरस्कृतसमेत भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर