राष्ट्रपतिले गरे भोटो जात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्न आयोजित भोटो जात्रामा सहभागी भई भोटोजात्रा अवलोकन गरेका हुन् ।

मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गरे ।

गत वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरू सहभागी थिए ।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *