बाँदर नियन्त्रणको माग गर्दै आन्दोलनमा उत्रिए धादिङका किसान

खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश गर्ने क्रम झन बढ्न थालेको किसानले बताएका छन् ।

बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका-९, निगालपानी आसपासका किसानले सदरमुकाम धादिङबेँसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुन्ड्याउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरूको भनाइ छ । बर्सेनि खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् । ‘बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ,’ बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङबेँसी पुगेकी टिकाकुमारी श्रेष्ठले भनिन्, ‘बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, बर्सेनि दुःख गर्‍याे फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।’

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइ छ । ‘दुःख गर्‍याे, मल हाल्यो खेती गर्‍याे, हुर्कायो । आउला खाउँला, छाक टारौँला भन्यो बर्सेनि बाँदरले सखाप बनाउँछ,’ किसान देवीप्रसाद रिजालले भने, ‘हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।’

बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *