कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन्।

उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने तथा केही समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको भनाइ छ।

नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले। डराउँदैन पनि। कतिपय उचित आलोचनाहरू हुन्छन्। त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन् उत्साह हुन्छ। केही समस्या भए करेक्सन पनि हुन्छ। त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले।’

सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि औंल्याए। प्रजातन्त्रको खिलापमा एकथरी लागि परेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताएका हुन्।

सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढ्नुपर्ने बताए।

सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार सम्बद्ध संघ-संगठनहरूलाई आह्वान गरे।

उनले ठूलो लगानीका सञ्चार गृहहरूले समेत श्रमजीवी पत्रकारहरूलाई अन्य विकल्प खोज्न दबाब दिएको उल्लेख गर्दै त्यसका विरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए।

अध्यक्ष पोखरेलले सञ्चारमैत्री कानून निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर