भुटानी शरणार्थी प्रकरण

प्रहरीमा आईजीपीलाई विवादमा ल्याउने प्रयास !

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि नेपाल प्रहरीको चौतर्फी प्रशंसा भइरहेको छ । यो प्रकरणमा आफ्नै पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेजस्ता ‘हाइप्रोफाइल’ व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याएपछि प्रहरीको साख पुनः फर्किएको पनि टिप्पणी हुने गरेको छ ।

तर, यही प्रकरणका कारण प्रहरीमै आन्तरिक विवाद र अस्वस्थ प्रतिस्पर्धा देखिएको छ, जसले प्रहरीको चेन अफ कमान्डमा असर पुग्ने देखिएको छ । यही कारणले स्वयं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर र अन्य उच्च प्रहरी अधिकारीसँग बैठक नै बसी विवाद साम्य गर्नुपरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक तथा प्रशासनका उच्चपदस्थ र ठगीमा अन्य संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ र मुद्दा तयार पारी सरकारी वकिलको कार्यालयमा बुझाएपछि प्रहरीकै आईजीपी कुँवर पनि यो प्रकरणमा जोडिएको समाचार बाहिरिएपछि विवाद सुरु भएको हो । कुँवरले उपत्यका अपराध अनुसन्धान कार्यालया रहँदा बिचौलियाको पक्षमा काम गरेको आरोप लगाई उनी संलग्न हुनसक्ने ‘आशंका’ गरिएका समाचार बाहिरिएका थिए ।

समाचार बाहिरिएपछि प्रहरी प्रधान कार्यालयमा हंगामा मच्चिएको थियो । दुई पक्षबीच भएको कुराकानीमा कुँवरको प्रसंग आएको आधारमा यसबारे समाचारमाध्यमलाई जानकारी गराएर आईजीपीको साख गिराउन खोजिएको प्रहरी प्रधान कार्यालयको बुझाइ छ । त्यही कारण प्रहरी प्रधान कार्यालयले यही १० जेठमा प्रेस विज्ञप्ति नै जारी यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

याे पनि – स्याबास प्रहरी ! अब न्यायालयलाई धन्यवाद भन्न पाइयोस्

विज्ञप्तिमा ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितहरुबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय’ भएको उल्लेख छ । प्रहरी प्रधान कार्यालयले कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रमण सिर्जना हुनजाने जिकिर गरेको छ ।

अर्को चिन्ताको विषय भएको प्रहरी संगठनकै विश्वनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने विज्ञप्तिमा उल्लेख छ । प्रहरी चेन अफ कमान्डमा चल्ने संस्था हो । तर, चेन अफ कमान्डमा नै समस्या आएपछि समग्र प्रहरी संगठनको कार्यसम्पादनमा नै ह्रास आउँछ । अहिले त्यही समस्या देखिने हो कि भन्ने चिन्ता प्रहरी संगठनमा देखिएको छ ।

यही कारण गृहमन्त्री श्रेष्ठले आईजीपीसहित उच्च अधिकारीलाई बोलाएर नक्कली भुटानी शरणार्थी प्रकरणको मिसिल बाहिरिएकोबारे छानबिन गर्न निर्देशन दिएका थिए । अर्कोतर्फ उनले प्रहरीका उच्च अधिकारीमा देखिएको अवस्थ प्रतिस्पर्धा र विवादलाई पनि मिलाउन प्रयास गरेका थिए ।

प्रहरीमा उच्च पदमा पुगेपछि आफू बढुवामा अगाडि आउन र संगठनको नेतृत्व लिन हानथाप हुने पुरानै प्रवृत्ति छ । यस्तो अस्वस्थ प्रवृत्ति अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि देखिएको प्रहरीकै उच्च स्रोतको भनाइ छ । प्रहरीमा चेन अफ कमान्डलाई अन्य उच्च अधिकारीले नमान्दा अहिले सरुवा बढुवाको विषयमा पनि विवाद देखिन थालेको छ ।

याे पनि – नक्कली शरणार्थी प्रकरण अनुसन्धानले प्रहरीको साख फर्किंदै

वरियताभन्दा कार्यक्षमता, कार्यकुशलता, इमानदारी र चुनौती लिनसक्ने आधारमा बढुवाको मापदण्ड हुनुपर्छ भन्ने पक्षमा रहेका आईजीपी कुँवरको कार्यकालमै भएका डीआईजी, एसएसपी र एसपी बढुवामा केही अधिकारीहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरे ।

संगठनमा सरल र सहज महानिरीक्षकको छवि बनाएका कुँवर आफै पनि यी तीनै तहका बढुवाबाट सन्तुष्ट छैनन् । तर, सीमित सिट र आफ्नै ब्याचमेटहरुको असहयोगले कतै आईजीपी लक्षित आक्रमण त भइरहेको होइन भन्ने चर्चा यतिबेला प्रहरी प्रधान कार्यालयमा चल्ने गरेको छ । प्रहरीभित्र यतिबेला बढुवा असन्तुष्टि केही हदसम्म स्वाभाविक रहे पनि केही घटनाक्रम भने नियोजित र प्रायोजित भएको आशंका उच्च प्रहरी अधिकारीले नै गरेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा पनि आईजीपीलाई मुछिनुमा प्रहरीमा बढेको अस्वस्थ प्रतिस्पर्धालाई मानिएको छ । यसरी आईजीपीलाई विवादमा ल्याउन खोजेर केही स्वार्थसिद्ध गर्न खोजेको हो कि भन्ने आशंका पनि प्रहरी वृत्तमै चल्न थालेको छ । प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि ‘प्रहरीले सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा भएको’ स्पष्टीकरण दिइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर