गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका वरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

४ करोड ४७ लाख ३४ हजार २१२ सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ।

उनको ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ रकमको स्रोत नखुलेको र उक्त रकम सार्वजनिक पदको दुरुपयोग गरेर आर्जन गरेको पाइएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

२०४६ जेठ ८ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७९ सालसम्ममा ७ करोड २४ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका थिए।

यादवले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती रीता रानी, छोराहरू विकास यादव र अविनास यादवको नाममा जग्गा खरिद गरेको, घर निर्माण गरेको र बैंक मौज्दात राखेको पाइएको अख्तियारको भनाइ छ।

अख्तियारले ती सबै घरजग्गा र बैंक मौज्दातबाट बिगो जफत गर्न माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *