कीर्तिमानी आरोही बुढामगरलाई महिला मन्त्रालयको सम्मान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेका छन्।

मन्त्रालयले आज शारीरिक अपांगता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट, उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पुर्‍याएको योगदानस्वरूप सम्मान गरेको हो।

सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपांगता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताए। ‘आत्मविश्वास, त्यो साहसकै कारणले आज अपांगता भएका व्यक्तिले पुर्‍याएको योगदान विश्वसामु पुगेको छ। अपांगता भएकै कारण निराश हुनुभएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।

विश्व कीर्तिमान राख्न सफल बुढामगरले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पुर्ण अपांगता भएका व्यक्तिलाई रहेको बताए। ‘मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पूर्ण अपांग व्यक्तिलाई गरेको महसुस भएको छ। हामी पनि केही गर्न सक्छौं भन्ने आत्मविश्वास सबै अपांगता भएका व्यक्तिमाझ पुगेको छ,’ बुढामगरले भने।

अपांगता भएका व्यक्तिको सहजताका लागि अपांगतामैत्री कार्यलय, सडक, पार्किङलगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उनले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर