‘ए’ डिभिजन लिग : पुलिस विजयी

विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले एनआरटीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो । निकै रोमाञ्चक बनेको खेलमा रवी पासवानले उपलब्ध गराएको पासलाई मोसेसले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । यस अघि दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । २०औं मिनेटमा कृतिशरत्न छुन्जूको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ३०औं मिनेटमा निकोलस सङ्गको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोस्रो हाफमा फरक रणनीति सहित आक्रामक खेल देखाएको पुलिसले अग्रता लिएसँगै एनआरटीलाई दबाबमा राख्दै खेलेको थियो । ७९औं मिनेटको अग्रता पछि १० मिनेट पछि सौजन राईको कर्नरमा अन्जन राईको हेडरबल बारमा लागेर बाहिरिँदा पुलिसको अग्रता अवसर खेर गएको थियो । इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिए पनि बाँकी समयमा थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा जोड्न सफल भयो । यससँगै पुलिस लिगमा एनआरटीबिरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट १–१ को बराबरीमा सकिएको थियो । बिहीवारको जितसँगै पुलिसले २३ खेलमा ३४ अकं जोड्न सफल भएको छ । पुलिस चौथो स्थानमा कायमै छ । पराजय व्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।

लिग अन्तर्गत बिहीवार नै च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

यससँगै जारी लिगमा २३औं चरणका खेल सम्पन्न भएका छन् । २३औं चरणको खेल सम्पन्न हुँदा यसै सिजन बढुवा भएको चर्च ब्वाईजले ४१ अंक जोड्दै शीर्षता राखेको छ । साविक विजेता मच्छिन्द्र ३९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा जावलाखेल ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । यस्तै पुलिस चौथो स्थानमा अटाउँदा विभागीय टोली त्रिभुवन आर्मी पाँचौ स्थानमा छ । यस्तै खुमलटार र फ्रेण्ड्स रेलिगेशन क्षेत्रमा बच्नका लागि संघर्ष गरिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर