प्रधानमन्त्री प्रचण्ड उज्जैनमा, महाकाल मन्दिरमा १०८ केजी रुद्राक्षले गरे पूजा

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्य प्रदेशको इन्दौरबाट उज्जैन पुगेका छन्।

शुक्रबार दिँउसो सडकमार्गबाट उज्जैन पुगेका दाहाललाई त्यहाँ मध्य प्रदेशका राज्यपाल मंगूभाइ पटेल र प्रदेश सरकारका मन्त्री मोहन यादवले स्वागत गरेका थिए।

दाहाल शुक्रबार बिहान मध्य प्रदेशको इन्दौर पुगेका थिए।


प्रधानमन्त्री दाहालले शुक्रबार दिउँसो उज्जैनमा रहेको हिन्दूहरूले मान्ने १२ ज्योतिर्लिङ्गमध्ये एक महाकाल मन्दिरको दर्शन गरेका छन्।

उनले महाकाल मन्दिरमा आठवटा लगेजमा लगिएको १०८ केजी रुद्राक्षले विशेष पूजा गरेका छन्।

लगेजमा प्याक गरिएकाे १०८ केजी रुद्राक्ष।

दाहालले नेपालमै उत्पादित काठमाडौंबाट लगिएको विशेष प्रकारको १०८ केजी रुद्राक्षले उक्त मन्दिरमा पूजा गरेका हुन्। त्यस क्रममा उनलाई मन्दिरका पुजारीहरूले स्वागत गरेका छन्।

१२ ज्योतिर्लिङ्गमध्ये एक उक्त महाकालेश्वर मन्दिरमा पूजाअर्चनाअघि उनलाई सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्था हेरफेर गरेर ६ घण्टासम्म सर्वसाधारणलाई पूजामा रोक लगाइएको थियो।

शुक्रबार बिहान ६ बजेदेखि मध्याह्न १२ बजेसम्म मन्दिरको गर्भगृहमा भक्तजनलाई प्रवेश निषेध गरिएको हो।

त्यस अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्रै गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा मिलाइएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर