प्रधानमन्त्री प्रचण्डको स्वागतमा मध्य प्रदेशका मुख्यमन्त्री चौहानले लगाए ढाकाटोपी

शुक्रबार बिहान भारत मध्य प्रदेशको इन्दौर पुगेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वागतमा मुख्यमन्त्री शिवराज सिंह चौहानले ढाकाटोपी लगाएका छन्।

हावाईमार्गबाट इन्दौरको देवी अहिल्याबाई होल्कर विमानस्थल पुगेका प्रधानमन्त्री दाहालको स्वागतमा चाैहानले ढाकाटोपी लगाएर नेपाल र नेपालीप्रति सम्मान दर्शाएका हुन्।

मुख्यमन्त्री चौहनाले स्वागतपछि पनि ढाकाटोपी लगाएरै प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका छन्।

मुख्यमन्त्री चौहानले नेपाल र भारत अत्यन्त प्राचीन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताए।

प्रधानमन्त्री दाहाललाई इन्दौरमा स्वागत गर्दै सिंहले भने, ‘यही भावले अहिल्याको पवित्र नगरमा, इन्दौरमा, मध्यप्रदेशमा नेपालका माननीय प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको गौरवशाली परम्पराअनुरूप हृदयदेखि स्वागत गरेका छौं। दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस्। सहयोग अझै बढोस् । उनको यो यात्राले यस दिशामा ठोस कदम अगाडि बढ्नेछ।’

मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेका छन्।

इन्दौरमा विमानस्थलबाहिर प्रधानमन्त्री दाहाललाई स्थानीय सांस्कृतिक झाँकीले स्वागत गरिएको थियो। सडकमा उभिएका सयौं नागरिकले नेपाल र भारतको झण्डा फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थलबाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल इन्दौरबाट अहिले मध्य प्रदेशकै उज्जैन पुगेका छन्। सडकमार्गबाट उज्जैन पुगेका उनले महाकालेश्वर मन्दिरमा १०८ किलोग्राम रुद्राक्ष चढाएर विशेष पूजाअर्चना गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर