विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताएका छन्।

शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाहीको चेतावनी दिएका हुन्।

उनले अस्पताल सञ्चालनको स्वीकृति लिँदा दश प्रतिशत विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने प्रावधान राखिएको भए पनि सो प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। उनले अनुगमनका क्रममा अस्पतालहरूसँग एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण पनि माग गरे।

मन्त्री बस्नेतले अस्पताल सञ्चालनको स्वीकृति लिँदाको सम्झौताअनुरूप १० प्रतिशत निःशुल्क उपचार गर्न निर्देशन पनि दिए। उनले निःशुल्क उपचार दिने र नदिने अस्पतालहरूलाई सरकारले सोहीअनुरूप हेर्ने पनि स्पष्ट पारे।

उनले अस्पतालमा शैय्या उपलब्ध छ/छैन भन्ने पनि अनलाइनमार्फत सार्वजनिक गर्न निर्देशन दिइएको भन्दै आगामी दिनमा बेड पाउनका लागि मन्त्री वा सांसदरूले सिफारिस गर्नुपर्ने अवस्था तोड्ने बताए।

उनले अनुगमनका क्रममा अस्पताल प्रशासन, चिकित्सक, बहिरंग सेवामा भर्ना भएका बिरामी, आकस्मिक सेवामा भर्ना भएका बिरामीहरूलाई भेटी अस्पतालले दिएको सेवाको सम्बन्धमा जानकारी लिएका थिए। उनले अस्पताल अनुगमनको काम जारी राख्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *