शान्ति प्रक्रिया टुंग्याउने विषयमा चीनको चासो

शान्ति प्रक्रियाको बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले चीनले चासो देखाएको बताएका हुन्।

उनले शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताए।

पूर्वसभामुख सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए। चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौं। नेपाल र चीन सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहाद्र र घनिष्ठ बनाउँदाखेर नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौं। विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वभाविक रूपमा पहल कदमी हुनुपर्नेछ,’ उनले भने।

उनले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरूले नेपालका समस्या खुला रूपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताए।

उपाध्यक्ष सापकोटाले भेटमा नेपाल र चीन नाका सुव्यवस्थित रूपमा सञ्चालन गर्ने कुरामा पनि छलफल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर