खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण मिलाउन खेलकुदमन्त्रीको निर्देशन

चीनको होङझावमा आयोजना हुने १९ औं एशियाली खेलकुदको तयारी, सहभागिता र व्यवस्थापनका लागि राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार सचिवालय स्थापना गरिएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागमा चीनमा आयोजना हुने १९ औं एशियाली खेलकुदको सचिवालय स्थापना गरिएको हो। सचिवालयको उद्घाटन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गरे।

उद्घाटन कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो।

सचिवालयको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले एशियन गेम्समा खेलाडीलाई परिणाममुखी बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिए। नतिजा निकाल्न एकजुट भएर काम गर्न भन्दै मन्त्री लिम्बूले स्वार्थभन्दा माथि उठेर काम गर्न र खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण प्रवन्ध गर्न निर्देशन दिए।

यस्तै सदस्य–सचिव घिसिङले एशियन गेम्सको तयारीलाई चुस्त बनाउने सचिवालय स्थापना गरिएको र सहभागितालाई सरकारले प्राथमिकतामा राखेको बताए। आर्थिक वर्षको बजेटमा सरकारले उल्लेख गरेको र अब विशेष प्रशिक्षणको तयारी भइरहेको समेत जानकारी दिए। सदस्यसचिव घिसिङले साउन १ देखि भदै १ सम्म खेलाडीको क्लोज क्याम्प राख्ने बताए।

सदस्यसचिव घिसिङले एशियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने बताए। ओलम्पिक कमिटिमार्फत आयोजकलाई २९ खेलको नाम र खेलाडीको एक्रिडिएसन कार्डका लागि चीनमा पठाईसकेको जानकारी दिए। राखेपले यसअघि २३ खेललाई एशियन गेम्समा सहभागी गराउने निर्णय गरेको थियो। तर सम्भावना बोकेका र अन्तर्राष्ट्रिय नतिजा र प्रदर्शनका आधारमा ६ खेललाई अन्तिम समयमा थप गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर