भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबैकाे बयान सकियो, आइतबारदेखि थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तकै बयान सकिएको छ। शुक्रबार तीन जनाको बयान सकिएसँगै पक्राउ परेका १८ जनै अभियुक्तको बयान सकिएको हो।

यसअघि बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। आज शुक्रबार भने नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको छ।

पक्राउ परेका सबै अभियुक्तको बयान सकिएसँगै आइतबारबाट थुनछेक बहस सुरु हुने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले बताए। सबै अभियुक्तको बयान जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएकाे हाे। ब आइतबारबाट उनकै इजलासमा थुनछेक बहस सुरु हुनेछ। यो प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्।

थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट ४ जनाले बहस गर्ने तयारी गरेका छन्। प्रतिवादीका तर्फबाट करिब ५० जना कानून व्यवसायीले बहसका लागि वकालतनामा दिने तयारी गरेका छन्।

३० प्रतिवादी भएको र पक्राउ परेका अधिकांश व्यक्तिहरुले २ भन्दा धेरै कानून व्यवसायी राख्ने तयारी गरेकाले थुनछेक बहस केही दिन लम्बिने देखिएको जिल्ला अदालतले जनाएको छ।

इजलासले समय निर्धारण गरेमा केही सहज र छिटो हुने नभए कम्तीमा एक साता बहस हुने अनुमान जिल्ला सरकारी वकिलको कार्यालयले गरेको छ। करिब एक साता बयानमा लागेको र एक सातामा थुनछेक बहसपछि मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने अदालतले निर्णय गर्नेछ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्नेछ। जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान पाउनेछन्। माथिल्लो अदालतले जिल्ला अदालतको निर्णय उल्ट्याउन सक्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *