ओडिशामा यसरी भयो भयानक रेल दुर्घटना

भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोरमा शुक्रबार साँझ करिब ७ बजे भयानक रेल दुर्घटना भएको छ। तीनवटा रेल एकआपसमा ठोक्किएर भएको यस दुर्घटनामा कम्तीमा २८८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घाइतेको संख्या एक हजारभन्दा बढी रहेको र मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। दुर्घटनास्थलबाट आएका तस्बिरहरू मानिसलाई विचलित पार्ने खालका छन्।

उद्धार कार्यमा ठूलो संख्यामा एम्बुलेन्स, अग्नि नियन्त्रक, सुरक्षाकर्मी र चिकित्सकहरू परिचालन गरिएका छन्।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनालाई ध्यानमा राख्दै एक दिनको राजकीय शोकको आदेश दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर धेरै राज्यका मुख्यमन्त्रीहरूले यो भयानक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। यो दुर्घटनाप्रति भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि दुःख व्यक्त गरेका छन्।

रेलमन्त्री अश्विनी वैष्णवसहित थुप्रै उच्च अधिकारीहरूले घटनास्थल पुगेर दुर्घटनाको स्थितिबारे बुझेका छन्। वैष्णवले दुर्घटनामा मृत्यु भएकाहरूको परिवारलाई राहत र घाइतेहरूको उपचारमा सहयोगको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत मृतकका आफन्तलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेहरूलाई २ लाख रुपैयाँ र सामान्य चोटपटक लागेकाहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले मन्त्रीहरूसँग दुर्घटनाबारे जानकारी लिएका छन् र उनी आज दुर्घटनास्थल र घाइतेहरू उपचाररत अस्पताल जाने भएका छन्।

रेल दुर्घटनापछि टीएमसी नेता अभिषेक बनर्जीले रेलमन्त्रीको राजीनामा मागेका छन्। दुर्घटनाबारे भारत सरकारले छानबिन गर्ने बताएको छ।

कसरी भयो दुर्घटना?
इन्डियन एक्सप्रेस अखबारले आफ्नो रिपोर्टमा चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेसको डिब्बाहरू पटरीबाट उत्रिएर नजिकैको ट्र्याकमा खसेको बताएको छ, जहाँबाट बेंगलुरु हावडा सुपरफास्ट एक्सप्रेस जाँदै थियो।

दक्षिण पूर्वी रेलवेका प्रवक्तालाई उद्धृत गर्दै अखबारले लेखेको छ कि कोरोमण्डल रेलको बोगी नम्बर बी२ देखि बी९, ए१ देखि ए२, बी१ र कोरोमण्डल रेलको इन्जिन दुर्घटना शिकार भएको छ भने रेल नम्बर १२८६४ (यशवन्तपुर–हावडा एक्सप्रेस) को जनरल बोगीमा क्षति भएको छ। जनरल बोगी र बोगी नम्बर २ पछाडिबाट पटरीबाट उत्रिएका छन्।

एक वरिष्ठ रेलवे अधिकारीले अखबारलाई बताएअनुसार शालिमार–चेन्नई कोरोमण्डल रेलको १२ डिब्बा बहानागा बजार रेलवे स्टेशनबाट जाँदै गरेको बेला पटरीबाट उत्रिएको थियो। यी डिब्बाहरू नजिकैको ट्र्याकमा गुडिरहेको हावडा एक्सप्रेस ट्रेनसँग ठोक्किएका थिए। यसपछि हावडा एक्सप्रेस ट्रेनका तीनवटा डिब्बा पनि पटरीबाट उत्रिएका छन्।

बाहनागा बजार स्टेशनमा चारवटा ट्र्याक रहेको स्रोतले समाचारपत्रलाई बताएको छ। एक लुप्त ट्र्याकमा मालवाहक रेल थियो। दुईवटा रेल दुई मुख्य लाइनमा आमनेसामने पास गर्नुपर्ने थियो।

अखबार भन्छ कि कोरोमण्डल रेलका डिब्बा पटरीबाट उत्रिएपछि तिनीहरू पनि मालवाहक रेलसँग ठोक्किएका थिए।

समाचारमा स्थानीय स्टेशन अधिकारीहरूलाई उद्धृत गर्दै दुर्घटनाको अर्को विवरण पनि दिइएको छ, जसमा कोरोमण्डल रेलको सट्टा बेंगलुरु-हावडा ट्रेन पहिले पटरीबाट उत्रिएको भनिएको छ।

हिन्दू अखबारले पनि पहिलो पृष्ठमा रेल दुर्घटनालाई स्थान दिएको छ। इन्डियन एक्सप्रेसको समाचारको विपरीत, द हिन्दूले भनेको छ कि पहिले यशवन्तपुर-हावडा एक्सप्रेसको डिब्बा पटरीबाट उत्रिएको थियो।

साँझ करिब सात बजे बहानागा बजार रेलवे स्टेशन नजिकै रेल नम्बर १२८६४ (यशवन्तपुर-हावडा एक्सप्रेस) का दुईवटा डिब्बा पटरीबाट उत्रिएको र छेउमा अगाडिबाट आइरहेको तीव्र गतिको रेल नम्बर १२८४१ (कोरोमण्डल एक्सप्रेस) छेउछाउको ट्र्याकमा ठोक्किएर दुर्घटना भएको अखबारले जनाएको छ जसमा कोरोमण्डल ट्रेनका १७ डिब्बा पटरीबाट उत्रिएका छन्।

हिन्दू अखबारका अनुसार दुर्घटनामा मालवाहक रेल पनि संलग्न छ। अखबारले ओडिशाका मुख्यसचिव पीके जेनालाई उद्धृत गर्दै कोरोमण्डल ट्रेनका डिब्बा पटरीबाट उत्रिएपछि मालवाहक रेलसँग ठोक्किएको दाबी गरेको छ।

कोरोमण्डल एक्सप्रेसले पश्चिम बंगाललाई तमिलनाडुसँग जोड्छ। दुर्घटना हुनु केही समयअघि रेलले शालिमार स्टेशन पार गरेको थियो। अखबारका अनुसार कोरोमण्डल ट्रेनमा प्रायः काम वा राम्रो स्वास्थ्य सेवाका लागि तमिलनाडु जाने व्यक्तिहरू हुन्छन्।

हिन्दूस्तान टाइम्सका अनुसार साँझ ६ बजेर ५५ मिनेटमा कोरोमण्डल एक्सप्रेसका १५ डिब्बा पटरीबाट उत्रिएर नजिकैको ट्र्याकमा खसेका थिए। ७ बजे हावडा एक्सप्रेस यी डिब्बाहरूसँग ठोक्कियो र त्यसपछि हावडा एक्सप्रेसका दुईवटा डिब्बा पनि पटरीबाट खसे।

के भन्छन् प्रत्यक्षदर्शी?
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कोरोमण्डल एक्सप्रेसका एक यात्रुले भने, ‘हामी शालिमारबाट चेन्नई जाँदै थियौं। हामी एस ५ बोगीमा थियौं र दुर्घटना हुँदा म सुतिरहेको थिएँ।’

‘कसैको टाउको, खुट्टा, हात नभएको हामीले देख्यौं। सबैजना लडिरहेका थिए। दुर्घटना हुँदा दिमागले पनि काम गरिरहेको थिएन। हाम्रो सिटमुनि दुई वर्षको बच्चा थियो। उसलाई बाहिर निकालेर परिवारलाई दियौं। उसलाई केही भएको थिएन।’

कोरोमण्डल एक्सप्रेसमा चढेका अर्का यात्रुले भने, ‘हामी चेन्नई जाँदै थियौं। बेलुकी सात बज्न दश मिनेट अगाडि दुर्घटना भएको हो। हामी एस ५ कोचमा यात्रा गरिरहेका थियौं। एस ५ कोचका मानिसहरूलाई धेरै समस्या भएन। थोरै चोट लाग्यो।’ –भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारहरूको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर