महानगरको पहिलो प्राथमिकता नगरबासीलाई रोग लाग्न नदिनु हो : सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख एवं उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको पहिलो प्राथमकिता महानगरबासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन्।

शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले नगरबासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरूको बारेमा महानगरले काम गरिरहेको बताइन्।

उनले देश विकासका लागि जनप्रतिनिधिहरूको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताइन्।

‘धेरैजना प्रतिनिधिहरू प्रेसरको पेसेन्ट हुनुहुन्छ। धेरैजना प्रतिनिधि ज्युहरू औषधि खानुहुन्छ, डायबिटिजको औषधि खानुहुन्छ। त्यो लाइफस्टाइलसँग जोडेर यो तालिम दिनसके जब जनप्रतिनिधिहरू स्वस्थ हुनुहुन्छ। तब समाजमा अझ धेरै काम गर्न सकिन्छ,’ उनले भनिन‍्।

यस्ता कार्यक्रमले वडावासीका जीवनशैलीको समेत सुधार गर्न सकिने उनले बताइन्।

‘हामी सबैलाई थाहा छ, स्वास्थ्य रहे हामी सबै छौं, स्वास्थ्य नरहे केही पनि छैन, जतिसुकै काम गर्छु भन्ने इच्छाशक्ति भएर मात्रै पनि पुग्दैन। त्यसैले पनि यो कार्यक्रम जनप्रतिनिधिका लागि नै गरिएको हो,’ उनले भनिन्, ‘आजको यो तालिम र अभिमुखीकरण कार्यक्रमबाट आफ्नो जीवनशैली सुधार्न पनि केही न केही कुरा लिएर जानुहुनेछ।’

उनले थपिन्, ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर-घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरूले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर