बचत फिर्ताको माग गर्दै काठमाडौंमा सहकारीपीडितको प्रदर्शन

सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले फिर्ता नगरेको सर्वसाधारणको बचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि सुनुवाइ नभएको बताए ।

संघर्ष समितिकी अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताका लागि राज्यका सबै निकाय धाउँदा कतै पनि सुनुवाइ नभएपछि संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन् । 

उनले सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूलाई आफैंले नीति नियम बनाउन बन्द गर्नुपर्ने माग गरिन् । सहकारीमा बचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।

अध्यक्ष राजभण्डारीले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् ।

अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको उनको भनाइ छ । सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर बचत गर्नेहरूको रकम फसेको अध्यक्ष राजभण्डारीको भनाइ छ ।

पीडितहरूले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ताकाे रकम अविलम्ब फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर, सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर लगायत नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *