राष्ट्रिय योजना आयोगले पायो पूर्णता

राष्ट्रिय योजना आयोगले लामो समयपछि पूर्णता पाएको छ। आइतबार राष्ट्रिय योजना आयोगकी नवनियुक्त महिला सदस्य डा. अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो।

नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्। ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो।

आयोगका प्रवक्ता तथा सदस्य डा. रामकुमार फुयाँलले सदस्य ढुंगानाले शपथ लिएसँगै कार्यभारसमेत सम्हालेको बताए। उनले राष्ट्रिय योजना आयोगमा गठन आदेशमा उपाध्यक्षसहित ७ जना पदाधिकारी रहने व्यवस्था रहेको बताए।

उनले ६ जना सदस्यमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेको पनि बताए। प्रवक्ता फुयाँलले ५ जना सदस्य गत माघ ४ गतेको मन्त्रिपरिषद्ले निर्णय गरेर नियुक्त भएको बताए।

उनले नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएको बताए।

उनले सरकारले ल्याएको बजेटमा मन्त्रालयहरूलाई आयोगले सहयोग गर्ने र भएका योजनाहरूको अनुगमन र मूल्यांकनमा कसरी जोड दिने भन्ने विषयमा आयोग लाग्ने बताए। उनले सरकारको सरकारले गर्ने पुँजीगत खर्च कसरी बढाउने भन्ने विषयमा वृहत् छलफल गरेर अगाडि बढ्ने बताए।

२०७९ जेठ ९ गते आयोगको उपाध्यक्षका रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए। आयोगका सदस्यहरू डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा र डा. रमेश पौडेल नियुक्त भइसकेका थिए।

आयोगले सदस्यहरूलाई विभिन्न जिम्मेवारीसमेत दिएको छ। जसमा सदस्यहरू डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेश, डा. राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ।

यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै वाग्मती प्रदेश, डा. बिच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, शहरी विकास, युवा तथा खेलकुद साथै वाग्मती प्रदेशको जिम्मेवारी दिइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर