
संसदको गतिरोध अन्त्यका लागि बालुवाटारमा सभामुखसहित शीर्ष नेताबीच छलफल जारी

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि सभामुख र प्रमुख दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाछलफल सुरू भएको छ।
सोमबार सभामुखको पहलमा प्रमुख तीन दलका शीर्ष नेतासहित दुई पटक बसेको बैठक निर्णयमा पुग्न नसकेपछि आज पुनः बैठक बसेको हो। बिहान १० बजेका लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी सुरू भएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित दलहरूका प्रमुख सचेतक पनि सहभागी छन्।
जारी बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्र्तौलाले जानकारी दिए।
सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षविहीन बनेको थियो।
अहिले जारी बैठकमा संसदको गतिरोध अन्त्य गरी दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्न सहमति खोज्ने प्रयास भइरहेको हो।
प्रतिक्रिया