महिला विश्वकप फुटबल : सेमिफाइनल पुगेका चार टिम को कस्ता ?

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौं संस्करणअन्तर्गत आजदेखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । आज स्पेन र स्विडेनबीच खेल हुँदैछ भोलि दोस्रो सेमिफाइनल इंग्ल्यान्ड र अस्ट्रेलियाबीच हुनेछ । १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ ।

सेमिफाइनलमा पुगेका चार टिम को कस्ता छन् ?
स्विडेनको अहिलेको टिमलाई महिला फुटबल इतिहासमै यो देशको स्वर्णिम पुस्ताका खेलाडी भन्ने गरिन्छ । तर, स्विडेनले अहिलेसम्म अन्तर्राष्ट्रियस्तरमा जितेर त्यसलाई प्रमाणित गर्न सकेको छैन । दुई वर्षअगाडि टोकियोमा भएको ओलम्पिक्समा स्विडेन स्वर्ण पदकको नजिक पुगेको थियो । तर, फाइनलमा क्यानडासँग पराजित भयो । विश्वकपमा भने २००३ मा उपविजेता बन्नु स्विडेनको ठूलो उपलब्धि हो र तीन पटक तेस्रो स्थानमा विश्वकप सकाएको छ ।

त्यस्तै २०१९ को उपविजेता नेदरल्याण्ड्सलाई क्वाटरफाइनलमाको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन सेमिफाइनल पुग्ने पहिलो टिम हो । विश्व वरीयतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वार्टरफाइनलबाट अघि बढ्न सकेको थिएन । त्यसमा पनि स्पेन र स्विडेन अहिलेसम्म विश्वकपमा भेट भएको थिएन । स्पेन सुरूको ६ विश्वकपमा छनोट नै भएको थिएन ।

अस्ट्रेलिया मटिलडासको उपनामबाट चिनिने अस्ट्रेलियाको सेमिफाइनल यात्रा निकै तनावपूर्ण रह्यो । ब्रिसवनमा सोल्ड आउट क्राउडको अगाडि अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा हरायो । खेलको विजेता निर्णय हुन २० पेनाल्टी प्रहार गर्नुपरेको थियो र यो महिला विश्वकप इतिहासमै सबैभन्दा लामो रह्यो । अस्ट्रेलिया गोलकिपर माकेन्जी आर्नोल्डका लागि सुटआउट उतारचढावपूर्ण रह्यो । फिफा वरीयतामा १२ औं स्थानमा रहेको अस्ट्रेलिया सेमिफाइनल खेल्नेमध्ये सबैभन्दा तल्लो वरीयताको टिम हो ।

गत वर्ष युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इंग्ल्यान्ड विश्वकप उपाधि थप्ने योजनामा छ । प्रशिक्षक सरिना विघमनलाई राम्रोसँग थाहा छ कि टिमले सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियासँग खेल्दैछ । अन्तिम १६ को खेलमा रातो कार्ड पाएकी इंग्लिस स्टार लाउरेन जेम्सले दुई खेलको निलम्बनका कारण अस्ट्रेलियाविरूद्धको खेल पनि गुमाउनेछिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *