'हेलो सरकार' आजदेखि २४ सै घण्टा

जनताका गुनासो सम्बोधनमा सरकार गम्भीर छ : प्रधानमन्त्री

आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ को सेवालाई तीन सिफ्टमा सञ्चालन हुने गरी विस्तारको घोषणा गरेका हुन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित प्रधानमन्त्रीले जनताका समस्या सम्बोधन गर्ने गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ भएको घोषणा गरेका हुन्।

उनले भने,‘जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुन्छ। त्यसै प्रयोजनका निम्ति १२ वर्षअघि यो कार्यक्रमको शुभारम्भ गरिएको थियो। यसले गणतन्त्रमा जनमत र जनभावनाको सम्मान गर्ने परिस्थिति निर्माण भएको छ। जनताको गुनासो सुनिएन भन्ने मत पनि छ। यसलाई ३ सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु। मैले हेलो सरकारको निरीक्षण गरेँ। कार्यकक्ष हेरेँ। त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु। ’

शुभारम्भ समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरू सहभागी थिए।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ।

हेलो सरकारको डेस्कबाट प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ।

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *