पोखरा विमानस्थलबाट पहिलो पटक व्यावसायिक उडान, ४२ यात्रु बोकेर थिम्पु उड्यो ड्रुक एयर

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो पटक व्यावसायिक उडान भरेको छ।

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६:४० बजे पोखरा ओर्लिएको सो जहाज यहाँबाट ८:१५ बजे ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ। गत पुस १७ गते अंग्रेजी नयाँ वर्षको पहिलो दिन पोखरा विमानस्थलको उद्घाटन गरिएको थियो।

पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गरेका थिए।

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गरेको बताए। उनका अनुसार प्रतियात्रुु ३ हजार रूपैयाँका दरले विमानस्थललाई आम्दानी भएको छ।

उनले भने, ‘यो पोखराको पहिलो कमर्सियल उडान हो। यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौं, चार्टरको रूपमा आएको हो। यसका लागि मेहनत गरेका थियौं, कम्पनीलाई राम्रो सुविधा दिन्छौं भनेर प्रतिबद्धता गरेका थियौं, यसबाट उनीहरू कन्भिस भएर आएका हुन्।’

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

काठमाडौंबाट उनीहरू आठ हेलिकोप्टरमा पोखरा आएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन। विमानस्थल आन्तरिक उडानमा सीमित छ। यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *