
मोरक्कोमा शक्तिशाली भूकम्प, ६३२ जनाको मृत्यु


मोरक्कोमा गएराति शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन्। मोरक्कोको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ।
भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल-हौज र ताराउदान्ट प्रान्तका रहेको जनाउँदै मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांकाा, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएको बताएको छ।
शुक्रबार राति ११:११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोका नागरिक मध्यरातमा घर छाडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन्।
शक्तिशाली भूकम्पपछि साना-साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चारमाध्यमले जनाएका छन्।
शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन्। यो भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन्। उनले बच्चाहरू रोइरहेको आवाज सुनेको तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन्। दश मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए।
सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ।
पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ। ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ। मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन्।
यसैबीच विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने पबताएका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति सहयोगका लागि ऐक्यबद्धता जनाएका छन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा भएको ‘भयंकर’ भूकम्पमा परी ६०० भन्दा बढीको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउँदै शोक प्रकट गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पीडितलाई सहयोग गर्ने बताउँदै मोरक्को नरेश मोहम्मद छैटौंलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन्।
यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सहयोगका लागि तयार रहेको बताएका छन्। राजधानी नयाँ दिल्लीमा शनिबारदेखि सुरू भएको जी-२० शिखर सम्मेलनको उद्घाटन सत्रमा बोल्दै मोदीले मृतकहरूप्रति श्रद्धाञ्जली र मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
प्रतिक्रिया