जी-२० सम्मेलन : मोदीको अगाडि राखिएको बोर्डमा ‘इन्डिया’ को सट्टा ‘भारत’
भारतको राजधानी नयाँदिल्लीमा भइरहेको जी-२० शिखर सम्मेलनमा एक नयाँ दृश्य देखिएको छ।
जी-२० का अध्यक्षसमेत रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गरिरहेका बेला उनको टेबलमा राखिएको बोर्डले धेरैको ध्यान खिचेको छ।
उनको अगाडि राखिएको बोर्डमा ‘भारत’ लेखिएको थियो। विगतमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमका अवसरमा प्रधानमन्त्री मोदीको अगाडि ‘इन्डिया’ लेखिएको हुन्थ्याे।
गत वर्ष नोभेम्बर १५ मा इन्डोनेसियाको बालीमा भएको जी-२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीको अगाडि राखिएको बोर्डमा ‘इन्डिया’ लेखिएको थियो।
हालै राष्ट्रपति द्रौपदी मुर्मूले जी-२० सम्मेलनको निमन्त्रणापत्रमा ‘इन्डिया’ को सट्टा ‘भारत’ लेखेपछि देशको नामका विषयमा बहस छेडिएको छ।
शुक्रबार मात्रै संयुक्त राष्ट्रसंघले भारतले आफूलाई औपचारिक माग पठाए र सबै औपचारिकता पूरा गरेमा संयुक्त राष्ट्रसंघको अभिलेखमा ‘इन्डिया’ को नाम परिवर्तन गरेर ‘भारत’ राखिने बताएको थियो।
कांग्रेसलगायत अन्य विपक्षी दलहरूले मोदी सरकारले देशको नाम ‘इन्डिया’ बाट बदलेर ‘भारत’ बनाउन चाहिरहेको बताएका छन्।
विपक्षी गठबन्धनले आफ्नो नाम ‘इन्डिया’ राखेकाले भाजपा सरकारले जानीबुझी ‘इन्डिया’ को सट्टा ‘भारत’ नाम प्रयोग गरिरहेको उनीहरूको भनाइ छ।
सेप्टेम्बर १८ बाट सुरू हुने संसदको आगामी विशेष सत्रमा ‘इन्डिया’ को नाम परिवर्तन गरेर ‘भारत’ राख्ने प्रस्ताव पनि ल्याइन सक्ने मिडिया रिपोर्टमा दाबी गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।
यस बहसमा भाजपाका नेताहरूले ‘इन्डिया’ को सट्टा भारत हुनुपर्ने तर्क गर्दै आएका छन् भने विपक्षी नेताहरूले भारतको संविधानमा पहिलेदेखि नै ‘भारत’ नाम उल्लेख रहेको बताउँदै आएका छन्।
यद्यपि, प्रधानमन्त्री मोदीले बुधबार आफ्ना मन्त्रीहरूलाई ‘भारत’ नामका बारेमा राजनीतिक विवादबाट बच्न सल्लाह दिएको र देशको प्राचीन नाम ‘भारत’ नै रहेको बताएका थिए।
देशको नाम ‘भारत’ मात्र राख्न संवैधानिक संशोधन आवश्यक हुन्छ, जुन सदनमा दुई तिहाइ बहुमतले मात्र पारित हुन सक्छ।
-बीबीसी हिन्दीकाे सहयाेगमा
प्रतिक्रिया