शिक्षकहरूसँग निर्णायक वार्ता गर्दै सरकार
सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्ता टोलीको नेतृत्वमा निर्णायक सहमतिको अधिकारसहित छलफलमा आउन बोलाएको छ । अहिले नौ बजेदेखि गृह मन्त्रालयमा वार्ताको तयारी भइरहेको हो ।
सरकार र शिक्षहरुकाबीच बिहीवार तीनपटक भएका छलफल निश्कर्षविहिन भएपछि दुबैपक्षले वार्ताटोली बनाएर छलफलमा बस्ने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।
वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र तत् मन्त्रालयका सचिवहरू रहेको सरकारी वार्ता टोली र शिक्षक संघ रसंगठनले बनाउने वार्ता टोलीबीच बिहान ९ बजे गृह मन्त्रालयमा थप छलफल हुनेछ।
नेपाल शिक्षक महासंघले भने औपचारिक वार्ता नभई अनौपचारिक छलफल भएको बताएको छ । वार्तापछि नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले सहमति नभएसम्म आन्दोलन जारी रहने बताए । ‘अहिले छलफल मात्रै भयो । सरकारका तर्फबाट पत्र आउँछ । वार्ता कमिटी गठन भएर जबसम्म बैठक हुँदैन तबसम्म हामी छलफल र हस्ताक्षर गर्दैनौँ भनेका छौँ । शुक्रबार बिहान ९ बजे पुनः बैठक बस्नेछौँ,’ उनले भने ।
छलफलमा शिक्षकहरूले आफूहरूले उठाएका माग र विधेयक संशोधनमा लिखित सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए । तर, सरकार पक्ष त्यसमा तत्पर नभएको महासंघको आरोप छ । शिक्षामन्त्री राईले शिक्षकका उपयुक्त माग पूरा गर्न सरकार तयार रहेको बताएका थिए । ‘शिक्षकका साझा समस्या पूरा गर्न सरकार कोसिसरत छ । तर, शिक्षामा बजेटको कमी छ । शिक्षकलाई मोटिभेसन हुने गरी सरकारले काम गर्छ,’ उनले भने ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सापकोटाले बिहीबार तीनपटकसम्म दुई पक्षबीच बैठक बसेको र सहमतिको प्रयास कायम रहेको बताए । ‘माग पूरा गर्ने सन्दर्भमा मन्त्रालयले छलफल गरिरहेको छ । शिक्षकहरूले सकारात्मक संकेत पनि जनाउनुभएको छ । यसअघि मस्यौदाको क्रममा पनि उहाँहरू उत्साहित पनि हुनुहुन्थ्यो, त्यसपछि अहिले उहाँहरूले आफ्ना विमति केन्द्र सरकारलाई नै राख्न खोज्नुभएको छ,’ उनले भने ।
बिहीबार बिहान सुरुमा नेपाल शिक्षक महासंघका प्रतिनिधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका थिए । वार्तामा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गरेका थिए । शिक्षक नेताहरूले देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका माग पूरा गरेर फर्कने मनस्थितिसहित आएकाले माग सम्बोधन नभएसम्म आन्दोलन स्थगन नहुने अडान लिएका थिए ।
प्रतिक्रिया