एशियाली खेलकुद-२०२३

आफ्ना तीन खेलाडीलाई प्रवेश अनुमति नदिएपछि भारतीय खेलमन्त्रीले रद्द गरे चीन भ्रमण

एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङ्झाउ जाने अनुमति नदिएपछि भारतका खेलमन्त्री अनुराग ठाकुरले चीन भ्रमण रद्द गरेका छन्।

उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरूणाचल प्रदेशका तीन जना महिला खेलाडीले एशियाली खेलकुद प्रतियोगिता आयोजक समितिले अनुमति दिए पनि ती खेलाडीलाई चीन सरकारले खेलाडी परिचयपत्र नदिएपछि खेलमन्त्री ठाकुरले भ्रमण रद्द गरेका हुन्। चीनले खेलाडी परिचयपत्रलाई नै भिसाको मान्यता दिएकाले त्यसको अभावमा उनीहरू प्रतियोगितामा भाग लिनबाट वञ्चित भएका हुन्।

चीनले अरूणाचल प्रदेशलाई दक्षिणी तिब्बतका रूपमा आफ्नो भूमि दाबी गर्दै आएको छ। उक्त प्रदेशको केही भूभागलाई लिएर नयाँदिल्ली र बेइजिङबीच विवाद जारी छ।

यसैबीच भारतीय विदेश मन्त्रालयले खेलाडीमाथि चीनले गरेको भेदभावपूर्ण व्यवहारको निन्दा गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले चीनको यो कदमबाट एशियाली खेलकुदको भावनामा गम्भीर आघात पुगेको बताएका छन्। ‘खेलकुदका नियमको उल्लंघन गरिएकाले हामीले नयाँदिल्लीस्थित चिनियाँ दूतावास र बेइजिङस्थित भारतीय दूतावासमार्फत कडा विरोध गरेका छौं,’ उनले भने।

शुक्रबारदेखि यही असोज २१ गतेसम्म हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बंगलादेश, भुटान, ब्रुनाइ, कम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यान्मार, नेपालसहित ४५ देशले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी प्रतियोगितामा उत्तर कोरिया, ओमान, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, सिरिया, ताजकिस्तान, थाइल्याण्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडी सहभागी हुनेछन्।

अठचालीस देश भएको एशिया महादेशका चार मुलुक युक्रेन, रूस, बेलारूस र इजरायल उक्त प्रतियोगितामा सहभागी छैनन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले युक्रेनमा रूसले आक्रमण गरेकाले मस्कोविरूद्ध प्रतिबन्ध लगाएको छ भने रूसको सहयोगी बेलारूसलाई पनि युक्रेन युद्धमा सघाएकाले आईओसीले प्रतिबन्ध लगाएको हो। धेरै अरब मुलुक उक्त प्रतियोगितमा सहभागी भएकाले विगतदेखि नै इजरायल एशियाली खेलकुद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर