‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन-२०८०’ आयोजना हुँदै

सूचनाको हकका लागि राष्ट्रिय महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन-२०८०’ को आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै महासंघले ‘सूचनाको हकका लागि प्रथम राष्ट्रिय सम्मेलन-२०८०’ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले नेपालको संविधानको धारा २७ सूचनाको हकसम्बन्धी ऐन-२०६४, नियमावली-२०६५ कार्यविधि एवं निर्देशिकासमेत स्थापित हुँदा पनि तीनै तहको सरकारले यो विषयलाई आफ्नो बजेट नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारिएको बताए ।

उनले सूचनाको हकका लागि राष्ट्रिय महासंघले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पुर्‍याउन र देशभर यसको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन सम्मलेन गर्न लागेको बताए ।

महासंघले आयोजना गर्न लागेको यो पहिलो राष्ट्रिय सम्मेलन-२०८० ले सूचनाको हकको क्षेत्रमा क्रियाशिल ७७ वटै जिल्लाका अभियानकर्मीहरूलाई हौसला प्रदान गर्ने र यो अभियानले अझै उचाइ लिने विश्वास लिएको उनको भनाइ छ ।

यो सम्मेलन असोज १ गतेदेखि हुँदैछ । पहिलो दिन सम्मेलनका क्रममा तीन फरकफरक विषयमा प्यानल छलफल आयोजना गरिँदैछ ।

दोस्रो दिन महासंघले आफ्ना नीति, रणनीति विधानमा रहेका व्यवस्थाहरूलाई वृहत रूपमा छलफल गरी रणनीतिक योजना बनाउने छ भने ७७ जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिको सहभागिता रहेको बन्दसत्रले महासंघको केन्द्रीय समितिलाई पूर्णता दिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *