अपराध नियन्त्रणका लागि नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न आईजीपीको निर्देशन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षालगायतका विषयमा निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्वलक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे। कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृत्रिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करीलगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारबाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिए।
बजार अनुगमनलगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन मिलाउनुपर्ने उनले उल्लेख गरे। नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उनले जोड दिए।
चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारीसम्बन्धी निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त इलाकाहरूमा अझै बढी ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।
संगठनको आन्तरिक सुदृढीकरण तथा शुद्धीकरणको नीतिलाई मूर्त रूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिँदै कानुनको दायराभन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारबाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताए।
प्रतिक्रिया