प्रधानाध्यापक हत्या प्रकरण : पूर्व शिक्षिकासहित पक्राउ पर्नेकाे संख्या ६ पुग्याे
जनकपुरधाम। बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ।स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले स्वर्णकारकै स्कुलमा पहिले पढाउने पूर्वशिक्षिका कलैया उपमहानगरपालिका-१ की २५ वर्षीया एक महिलासहित ६ जनालाई पक्राउ गरेको हाे।
कलैया उपमहानगरपालिका-६ मदरशा टोलस्थित बाल एकता इंग्लिश बोर्डिङ स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रूपेश स्वर्णकारको सोमबार दिउँसो साढे १२ बजेतिर अपरिचित समूहले गोली हानी हत्या गरेको थियो।
बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। पक्राउ परेका मध्यकी महिला (पूर्वशिक्षिका) हत्याको योजना बनाउने मुख्य योजनाकार रहेको हुन सक्ने प्रहरीको आशंका छ।
सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ। टाउको र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।
आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया