संसदीय अभ्यासका विविध पक्षका बारेमा अध्ययन गर्दैछु : सांसद परियार

म चार महिनाअघि विसं २०८० फागुनदेखि राष्ट्रिय सभाको सदस्यका रुपमा पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेको हुँ । त्यसअघि संसदीय अभ्यास के कसो होला भन्ने कौतुहल भइरहन्थ्यो । सांसद बन्नुअघि हामीले जति बोले पनि सुनुवाइ हुँदैनथ्यो ।

अहिले राष्ट्रियसभाको सदस्यका रुपमा मुलुकको समृद्धिको पक्षमा, दलित तथा पछाडि परेका, अल्पसङ्ख्यकका मुद्दाहरुमा आवाज उठाउन पाएको छु । सांसद भइसकेपछि हामीले नीति निर्माणमा सहभागी हुन पाउने भएकाले पनि आफ्ना मुद्दाहरु उठाउन र समावेश गराउन सहज हुने रहेछ ।

संसदीय अभ्यासमा प्रवेश गरिसकेपछि चुनौती नहुने होइनन् । कतिपय चुनौतीहरुका बीच पनि मलाई रमाइलो लागिरहेको छ । सांसदको कार्यभार समालिसकेपछि मुलुकको ऐन कानुन निर्माण गर्ने स्थानमा पुगेको छु । यसले मलाई धेरै कुराहरु सिकाएको छ । अझै कतिपय कुराहरु सिक्न बाँकी छन् ।

राष्ट्रियसभामा म नयाँ भएर पनि होला संसदीय अभ्यास, प्रक्रिया, नीतिनियमका बारेमा बुझ्न केही समय लाग्यो । अझै कतिपय कुराहरु बुझ्न बाँकी छन् । नजानेका कुरामा अन्य सांसदसँग सोध्न मलाई कुनै अप्ठ्यारो लाग्दैन । संसदीय अभ्यासका बारेमा अहिले म पढाइका साथै धेरैभन्दा धेरै समाचार सुन्न, पढ्न लागेको छु ।

संसदीय अभ्यासमा सबैभन्दा महत्वपूर्ण कुरा सम्पर्क विस्तार रहेछ । नयाँ भएकाले जनसम्पर्क स्थापना गर्न सञ्चार विस्तार गर्न धेरै समय खर्चिनु परिरहेको छ । अझै थुप्रैसँग राम्रो चिनजान र सम्पर्क, सम्बन्ध बनाइसकेको छैन । संसदीय अभ्यास बाहिर देखेको र सांसद नै भएपछिको भोगाइ फरक पाटो हुन्छ । जे हामीले बाहिरबाट देख्छौँ, संसद्भित्र त्योभन्दा फरक पाएँ । फरक फरक राजनीतिक दलको प्रतिनिधित्व गर्ने सांसदहरुबीच कुराहरु नमिलेको झैँ देखिन्छ । तर त्यस्तो हुँदो रहेनछ । राजनीतिक आस्था फरक भए पनि कतिपय कुराहरुमा एकैखालको सहमति हुने रहेछ । बाहिर निस्केपछि उही मिलाप हुन्छ । त्यसैले त भनिन्छ नि राजनीतिमा दुश्मन भन्ने हुँदैन भनेर ।

सदन सञ्चालन भइरहँदा कहिलेकाहीँ विधेयकहरुमा दफाबार छलफल पनि हुने गर्छ । योसँगै अन्य प्रतिवेदन तथा देशको समसामयिक र राजनीतिक विषयवस्तुमा छलफल हुन्छ । छलफल हुने विषयवस्तुको बारेमा आफू जानकार हुन जरुरी छ । जानकारीसहित प्रस्तुति दिएमा उक्त विषयवस्तुमा राम्रो प्रतिक्रिया दिन सक्छौँ । तसर्थ म संसद्भित्र जानुअघि छलफलका लागि निर्धारित विषयवस्तुबारे जानकारी लिने गर्छु । कतिपय कुराहरु आफैँ पढ्छु ।

प्राविधिक विषयवस्तुका बारेमा ज्ञान भएका मानिस वा आफ्नो सम्पर्कमा भएकाहरुसँग परामर्श लिन सहज हुन्छ । कहिलेकाहीँ सम्पर्कमा नहुँदा विषयवस्तु बुझ्न गाह्रो पनि परिरहेको हुन्छ । यस्ता प्राविधिक विषयमा हुने कुनै पनि विधेयकको छलफलमा जाँदा कतिपय विषयवस्तु हामीलाई थाहा नै नहुने रहेछ । कहिलेकाहीँ त जे जति ज्ञान छ, त्यसैको आधारमा मात्रै संसद्मा प्रस्तुत हुनुपर्दा निकै गाह्रो अनुभव हुन्छ ।

यससँगै म आबद्ध राजनीतिक दललाई पनि समय दिने गरेको छु । पार्टीको हितका लागि कसरी काम गर्ने ? पार्टीको मर्म र उद्देश्यअनुसार कसरी अगाडि बढ्ने भन्नेमा पनि ध्यान दिइरहेको हुन्छु । यति हुँदाहुँदै पनि चुनौती बढिरहेछ । समाज जस्तो छ नि त्यस्तै दृश्य पनि सिंहदरबारमा देखिए । कतिपय समयमा त धेरैले मलाई सांसद हो भनेर पनि पत्याउनुहुन्न । लोगो लगाएर नगए त कसैले सांसद भनेर पत्याउँदैनन् मलाई ।

संसद्भित्र अलि पुराना र वरिष्ठ सांसदहरुले पनि अलि हेप्नु हुँदो रहेछ । यो कुरामा पहिला पहिला मलाई अलि असहज महसुस हुन्थ्यो, पछि विस्तारै बानी पर्दै जाने रहेछ । सांसद भनेपछि बुढो हुनुपर्छ, कपाल फुलेकै हुनुपर्छ भन्ने मानसिकताको अन्त्य हुँदै गएको छ । युवाले पनि मुलुकको निर्णयक तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा धेरै युवा सांसदले प्रस्तुत गरिरहेका छन् । यस विषयमा उनीहरुलाई हामीले सम्मानका साथ सम्झाउने काम गरिरहेका हुन्छौँ । अहिले भने त्यस किसिमको महसुस भएको छैन । मैले पनि संसदीय अभ्यास बुझ्दै जान थालेँ । संसद्मा प्रस्तुत हुने कुनै पनि विषयवस्तुमा आफ्नो धारणा राख्न पछि हटेको छैन ।

केही गर्न भनेर नै सङ्घीय संसद सदस्यको रुपमा संसदीय अभ्यासमा प्रवेश गरेको छु । म अपाङ्ग र दलित समुदायको व्यक्ति पनि हुँ । तसर्थ अपाङ्ग र अल्पसङ्ख्यकको प्रतिनिधित्व गरेर सांसद्मा आएको हुँ । अपाङ्गमैत्री नीति प्रवर्द्धनका लागि सांसदको रुपमा आवाज उठाउने गरेको छु । अपाङ्ग र अल्पसङ्ख्यकका आवाजलाई संसद्मा पु¥याउने गरेको छु । अपाङ्ग र अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका विविध समस्यालाई समाधान गर्न भूमिका खेल्नेछु । यी समुदायको आवाजको प्रतिनिधित्व हुने नीति निर्माणमा योगदान पु¥याउने छु ।

नेपाली जनतामा परिवर्तन ल्याउने कुरामा, पार्टीमा युवालाई नेतृत्व तहमा कसरी ल्याउन सकिन्छ ? भनेर लागिपर्नेछु । यसैगरी संसद्मा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गरी काम अगाडि बढाउने छु । जनताका समस्यालाई सरकारसँग जोड्न काम गर्नेछु । उनीहरुको माग सम्बोधनका लागि राज्य र नीति निर्माण तहलाई झक्झक्याउनेछु । जनतालाई सरकारसँग जोडिदिने काम पनि जनप्रतिनिधिहरुको हो । विकासको कुरामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई जोड्ने कुरामा पनि भूमिका खेल्नेछु । अल्पसङ्ख्यक, दलित समुदायका समस्याहरु नजिकबाट नियालेकाले ती समस्या समाधानका लागि सक्दो पहल गर्नेछु ।

सांसद पदम परियारको परिचय

राष्ट्रियसभा सदस्य पदम परियार विसं २०३८ मा तनहुँको दलित परिवारमा जन्मिएका हुन् । उनी पोलियोका कारण सहज रुपमा हिँड्डुल गर्न सक्नु हुदैन । राष्ट्रियसभा सदस्य निर्वाचित भएर उनी अहिले संसदीय अभ्यासमा छन् । उनी अपाङ्ग अधिकारका क्षेत्रमा क्रियाशील रहँदै दलित तथा अल्पसङ्ख्यक समुदायको पक्षमा आवाज उठाउँदै आएका छन् ।

प्रियार २०५१ सालदेखि नै नेविसङ्घमार्फत नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए । लोकतान्त्रिक अपाङ्ग सङ्घदेखि पार्टीको तनहु, व्यास नगर समिति, क्षेत्रीय समिति तथा सम्पर्क मञ्चमा रहेर काम गरिराखेका छन् ।

‘सांसदसँग रासस संवाद’का लागि राष्ट्रियसभा सदस्य पदम परियारसँग राससका उप–समाचारदाता प्रगति ढकालले गरेको कुराकानीको सम्पादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *