
दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार


म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीन वटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताए ।
‘रु २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष रु १४ लाख बराबरको काम गरे, उनले भने, अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।’ आँखा, आयुर्वेद उपचार र फार्मेसी (औषधि बिक्री) कक्षका लागि तीन कोठे भवन निर्माण भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए ।
एक जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एक जना चिकित्सक, एक जना रेडियोग्राफर र एक जना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।
गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु ३२ लाख अनुदान दिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रूपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ ।
प्रतिक्रिया