
बाँकेमा चित्तलको मासुसहित एक जना पक्राउ


बाँकेमा चित्तलको मासुसहित एक जना पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका-१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फ निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै वन्यजन्तुको सिकारमा संलग्न अन्य फरार रहेका जनाउँदै उनीहरूको खोजी भइरहेको उनले बताए ।
‘चोरी-सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो,’ साहले भने, ‘गस्ती टोली आएको थाहा पाएर तीन जना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।’
पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेको अधिकृत साहले जानकारी दिए ।
उनले अन्य सिकारीहरू घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरू सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिए ।
प्रतिक्रिया