भ्रष्टाचार मुद्दामा सिरहा कर्जन्हाका पूर्व मेयरसहित पाँच जना दोषी ठहर
भ्रष्टाचार मुद्दामा सिरहाको कर्जन्हा नगरपालिकाका पूर्व मेयर गंगा पासवानसहित पाँच जना दोषी ठहर भएका छन् । विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्व मेयर पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर्याएको हो । उनीहरुले नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ चैत ०८० मा उनीहरूविरुद्ध आर्थिक हानि–नोक्सानी पुर्याएको आरोपमा मुद्दा दायर गरेको थियो । सो मुद्दामाथि मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्तले फैसला सुनाएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियारले बिगो दाबी गरेको एक करोड ८ लाख रुपैयाँ असुलका लागि जनही २१ लाख ६० हजार रुपैयाँ भराउने फैसला पनि गरेको छ । सबैको सजाय १० मंसिरमा निर्धारण गरिने समय अदालतले तोकेको छ । अदालतका सूचना अधिकारी रेग्मीका अनुसार उनीहरुमाथि कानुन बमोजिम २ वर्ष ६ महिनादेखि ४ वर्षसम्मको कैद सजाय हुन सक्छ ।
कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गरेको थियो। तर, उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिकाको कार्यालय स्थानान्तरण नगर्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।
उक्त आदेशको अवज्ञा गर्दै मेयर गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले निर्माण प्रक्रिया अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो । नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि बोलपत्र आह्वान हुँदा कार्यालय स्थानान्तरणको प्रक्रिया अधुरै थियो । यसले सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेको ठहर अदालतले गरेको छ ।
स्थानीय तहको केन्द्र परिवर्तनको निर्णय बिना वडा नम्बर ५ मा भवन निर्माणका लागि २०७८ माघमा ठेक्का आह्वान गरिएको थियो । नगरपालिकाले पेस्कीस्वरूप एक करोड आठ लाख रुपैयाँ महा लक्ष्मी कन्ट्रक्सन एण्ड ड्रेगन जेभीलाई प्रदान गरेको थियो । ठेकेदारले काम नगरेको पुष्टि भए पनि नगरपालिकाले निर्माण कम्पनीको जमानत जफत नगरेको देखिएको छ ।
- ‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
प्रतिक्रिया