सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भएपनि व्यवहारतः लागू हुन नसकेको जिकिर गरे । पटकपटकको प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको बताए ।
संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरुमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्वपूर्ण हुने उनको धारणा छ ।
‘पटकपटकको प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको छ । यस्तो संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरुमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्वपूर्ण रहने गर्दछ । यस्ता क्रियाकलापहरुबाट नै निजी विद्यालयहरु केबल नाफा आर्जन गर्न मात्र होइन, सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै तत्पर छन् भन्ने मान्यता स्थापित गर्न सकिन्छ’ उनले भने ।
विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै रहेको उल्लेख गर्दै उनले देश काल अनुसार परिमार्जन गर्नुपर्ने बताए ।
‘हाम्रो बजेट व्यवस्थाले नै शिक्षालाई जतिसुकै ठूला कुरा गरेपनि सरकारले प्राथमिकतामा राख्न सकेको छैन । नेपालको शिक्षा विकासमा चुनौतिहरु पक्कै पनि छन् । यि चुनौतिहरु नीतिगत पनि छन् । प्राविधिक, सामाजिक र आर्थिक पक्षसँग पनि सम्बन्धित छ’ दाहालले भने ।
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
- चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छ : अध्यक्ष मगर
- २१ औं शताब्दीमा क्रुर नरसंहार हुनु लज्जाको विषय : पूर्वप्रधानमन्त्री भट्टराई
प्रतिक्रिया