परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु शहरमा आज अपराह्न उनीहरूबीच वार्ता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ गएकी थिइन् ।
उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
वार्ताका क्रममा चीनको ७५औँ स्थापना दिवस र आगामी वर्ष नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा विदेशमन्त्री वाङमार्फत् चीन सरकार र चिनियाँ नागरिकलाई मन्त्री डा राणाले बधाई ज्ञापन गरिन् ।
मन्त्री डा राणाले पछिल्लो समय नेपाल चीन सम्बन्धमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका र यसका कारण सम्बन्ध थप बलियो बन्दै गएको बताउँदै चीन सरकारले चीन भ्रमण गर्ने नेपाली नागरिकहरूलाई हालै भिसा शुल्क नलाग्ने घोषणा गरेकोमा चीन सरकारलाई धन्यवाद दिइन् ।
त्यसैगरी नेपाल–चीनबीचका सबै परम्परागत सीमा नाका पुनः नियमित रूपमा सञ्चालनमा आइसकेका र त्यहाँ दुवै देशका नागरिक, सामान र सेवाहरूको सीमापार आवागमन निर्वाध बनेकाले यसलाई थप सहज एवं प्रभावकारी बनाउन दुवै पक्षबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उनले बताइन् ।
पछिल्ला समयमा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान भइरहेको र यी भ्रमणहरूले हाम्रो निकट तथा मैत्रीपूर्ण सम्बन्धलाई सधैँ सुदृढ बनाउँदै नयाँ गति प्रदान गर्दै लैजाने विश्वास उनले व्यक्त गरिन् । सो वार्ताका क्रममा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा समझ्दारी एवं सम्झौता हुने विभिन्न आयोजना एवं सहयोग आदानप्रदानबारे पनि छलफल भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपाल चीनबीच लामो समयदेखि रही आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बन्ने विश्वास गरिएको उनले बताइन् । प्रधानमन्त्री ओली आगामी सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
सो भेटपछि परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताले नेपाल चीन सम्बन्धमा नयाँ उचाइ थपेको र दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुगेको बताइन् ।
यसैबीच आजै साँझ चिनियाँ विदेशमन्त्री वाङले मन्त्री डा राणा र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । सो भोजमा सहभागी हुँदै मन्त्री डा राणाले प्रधानमन्त्री ओली र आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेकामा चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिइन् । मन्त्री डा राणा भोलि शनिबार नेपाल फर्कने कार्यक्रम छ ।
- ‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’
- मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयो : प्रधानमन्त्री ओली
- लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन् : महासचिव गुरुङ
- राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैनन्,गणतन्त्र हरेक किसिमले उत्तम छ : उपमहासचिव ज्ञवाली
प्रतिक्रिया