भारतको सहयोगमा खाम्लालुङ स्वास्थ्य चौकी भवन निर्माणको शिलान्यास

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
तेह्रथुम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले आज संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोग ३.५४ करोड लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ ।
यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो । तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। त्यसमध्ये खाम्लालुङ स्वास्थ्य चौकीलाई एउटा एम्बुलेन्ससहित कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर