१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताएका छन् ।
आइतबार १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए ।
सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको संसदसँग तुलना गर्न नमिल्ने पनि बताए ।
संसद सेवालाई थप प्रभावकारी बनाउन कानूनी रुपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उनले भने ‘१७औँ संसद सेवा दिवसको अवसरमा तुलनात्मक रुपमा हेर्ने हो भने संसदलाई प्रभावकारी संसद् सेवामा केही प्रगति गरेका छौं । तर त्यो प्रगति पर्याप्त छैन अझै धेरै प्रगति गर्नुपर्नेछ । हामीले गरेका उपलब्धिहरूलाई अरु मुलुकको तुलनामा होइन हाम्रै देशको तुलनामा हेर्नुपर्दछ । संसदीय अभ्यास पनि हाम्रै ढंगको परिवेश र परिस्थितिमा हेर्नुपर्दछ । एउटा महत्वपूर्ण कुरा मलाई के लाग्छ ने यो संसद सेवा छुट्टै बनाउने निर्णय गरेर छुट्टै ऐन बाट गाइगेड भएर हामीले १८ वर्षसम्म काम गरिरहँदाखेरि संविधान निर्माण भइसकेको थिएन । देश संघीय प्रणालीमा गइसकेको थिएन । त्यतिबेलै बनाएको कानुन समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्वपूर्ण छ । यसमा हाम्रो ध्यान गइरहेको छैन । यसको पछाडि म व्यक्तिगत रुपमा के कुरामा सहमत छु भने हाम्रो कानुन हामीले बनाउनुपर्छ भन्ने होइन, सरकारले कानुन कहिले ल्याइदिन्छ भनेर हेर्ने प्रवृत्ति संसदभित्र जे छ । यसको प्रमुख कारण यही हो । संसद् सेवालाई प्रभावकारी बनाउँदै यसको महत्त्व बढाउने कुरामा हामी जानको लागि अब नयाँ ढंगबाट कानुनी कुराहरू सोच्नुपर्छ । त्यसको लागि आजको यो छलफल र दिवसले महत्त्वपूर्ण कुराहरू राख्नेछ ।’
संसद प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र संसदहरुको महत्वपूर्ण भुमिका रहने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसदलाई प्रभावकारी बनाउन संसद सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भुमिका हुने बताइन् । उनले सांसदहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने कुरालाई आत्मसाथ गर्दै कर्मचारीहरू अघि बढ्नुपर्ने बताइन् । हालै संसदमा प्रवेश गर्ने सांसदहरूलाई संसदमा के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने ज्ञान नहुने भएकाले यस विषयमा कर्मचारीको सक्रियता महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनले भनिन् ‘संसद सेवामा काम गर्ने कमारीहरू विज्ञ हो । कयौं वर्षदेखि संसदकै काम गरिरहेकाले यो विषयमा तपाईँहरू पोख्त हुनुहुन्छ । संघीय संसदमा ४ सय जना कर्मचारीहरू हुनुहुन्छ । माननीयज्युहरुलाई सहयोग गर्नको लागि बस्नुभएको हो । मैले सुनेको भारतमा संसद सुरु हुनुभन्दा अगाडि सांसदहरूलाई त्यसको बारेमा जानकारी गराउनका लागि विज्ञहरू राखिन्छ । त्यो हाम्रो देशमा पनि आवश्यक छ । कर्मचारीहरूले पनि सांसदहरूको क्षमता अभिवृद्धि गर्ने कुरा आत्मसाथ गर्नुपर्छ भन्ने लाग्छ । अधिकांश सांसदहरूलाई त के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी हुँदैन नि ।’
कर्मचारीहरूले संसदका काम,कारबाही गर्दा राजनीतिकरण नगरीकन संसदको अवधारणा मनन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया