रविलाई कानून बमोजिम नै कास्की पुर्‍याएका हौँ, दुर्व्यवहार भएको छैन : चितवन प्रहरी

जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि दुर्व्यवहार नगरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनिएको विषय भ्रामक रहेको बताए ।

लामिछानेलाई प्रचलित कानुन बमोजिम नै सुरक्षा सतर्कता अपनाई प्रहरी नायव उपरीक्षक(डीएसपी)को कमाण्डमा चितवनबाट सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामिछानेलाई कास्की लिएर जाने कुनै पनि प्रहरीले मादक पदार्थ सेवन नगरेको पनि प्रहरीले स्पष्ट पारेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्धामा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि काठमाडौंबाट मंसिर १८ गते बिहान जहाज मार्फत चितवन ल्याइएको थियो ।

प्रहरीले कोही कसैले अनुुमानका आधारमा भनेको,सुनेको तथ्यहीन कुराहरुलाई सम्प्रेषण नगरी,सही, सत्य र तथ्यमा आधारित सुचना,समाचार सम्प्रेषित गर्न आग्रह गरेको छ ।

चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुतिरहेका लामिछानेलाई प्रहरीले दुर्व्यवहार गरेर राति उठाएर कास्की लगिएको भन्दै अनुसन्धानको माग गर्दै राष्ट्रिय मावन अधिकार आयोगमा उजुरी दिएको छ ।

लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर