शिलान्यास गर्दा भ्यु टावर, उद्घाटन गर्दा व्यापारिक कम्प्लेक्स

प्रधानमन्त्री केपी ओलीले आइतबार झापाको दमक नगरपालिका– ३ मा बनेको १८ तले भ्यु टावरको उद्घाटन गरेका छन् । निर्माण सम्पन्न हुँदासम्म सहरी विकास मन्त्रालयले दमक भ्यु टावरको नाममा बजेट विनियोजन गरेको थियो । तर, भ्यु टावरको आलोचना भएपछि भने उद्घाटनका क्रममा नाम फेरेर दमक व्यापारिक कम्प्लेक्स राखिएको छ ।

उद्घाटनका क्रममा ओलीले ‘भ्यु’ मात्र हेर्ने टावर भनेर आलोचना गरे पनि यो व्यापारिक कम्प्लेक्स भएको बताए । उनले शिलान्यास गर्दा दमक भ्यु टावरको नाममा शिलान्यास गरेका थिए । यसको आलोचनापछि भने सहरी विकास मन्त्रालय यसको नाम दमक व्यापारिक कम्प्लेक्स राखेर उद्घाटन गरेको छ ।

ओलीले भ्यु टावर उद्घाटन ठुलो कार्यसफलता भएको दाबी गरे । उनले यस्तो अग्लो व्यापारिक कम्प्लेक्स देशभर कतै नभएको पनि बताए । व्यापारिक कम्प्लेक्स दमक र झापाकै पहिचान बन्ने ओलीले दाबी गरे । भ्यु टावरले विकासका सम्भावना खुल्ने दाबी गर्दै उनले दमकलाई स्मार्ट र आधुनिक सहर बनाउने बताए । अब यहाँका मानिस हङकङ, स्विट्जरल्यान्डजस्ता मुलुक घुम्न जान नपर्ने उनले बताए । दमक बजारमा ल्यान्डपुलिङ र हाउसपुलिङको सम्भावना नभएकाले आफूले भ्यु टावर सहरभन्दा केही टाढा गाउँमा बनाएको पनि दाबी गरे ।

०७६ असार २६ मा ठेक्का सम्झौता भएको भ्यु टावरको निर्माण गत वर्षको माघमा सकिएको थियो । यसको निर्माणको जिम्मा चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले लिएका थिए । निर्माण सम्पन्न हुँदासम्म एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँ खर्च भएको सहरी विकास मन्त्रालयले जनाएको छ । यो कम्प्लेक्समा दृश्यावलोकनसँगै व्यापारिक, व्यावसायिक, मनोरञ्जनात्मक र कर्पोरेट कार्य हुने सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बताए । नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर