वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, कसको कति ?

२० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअअनुसार नौं वटा वाणिज्य बैंकको नाफा घटेको छ । योसँगै बैंकहरुको समग्र नाफामा पनि गिरावट आएको छ ।

६ महिनाको यो अवधिमा बैंकहरुले कुल २७ अर्ब ४३ करोड रुपैयाँ बराबर नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । यो वर्ष बैंकहरुले कमाएको नाफा अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाभन्दा १ अर्ब ३२ करोड अर्थात् ४.६१ प्रतिशतले कम हो ।

प्रतिशतका आधारमा नाफा घट्नेमा एनआइसी एशिया, कुमारी, सिद्धार्थ, नेपाल बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
जसमा सबैभन्दा धेरै एनआईशी एशिया बैंकको ९२.०३ प्रतिशत, कुमारीको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्यको ६२.१३ प्रतिशत, सिद्धार्थको ५२.३५ प्रतिशत, कृषि विकासको २९.३४ प्रतिशत, नेपाल बैंकको २१.६८ प्रतिशत सिटिजन्सको १५.४५ प्रतिशत, प्राइमको १४.३३ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९६ प्रतिशतले घटेको छ ।

यता, यो अवधिमा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको सबैभन्दा कम अर्थात् १५ करोड १७ लाख रुपैयाँ कमाएको विवरणमा उल्लेख छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ अर्ब ५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।

त्यसैगरी, प्रतिशतका आधारमा हेर्दा यो अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको ८५.४८ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ बराबरको नाफा बढेको हो । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबि बैंकको ४५.६० प्रतिशत, एभरेष्ट बैंकको २१.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.१० प्रतिशत, सानिमा बैंकको ४.७१ प्रतिशत, नबिल बैंकको २.८१ प्रतिशत हिमालयन बैंकको ०.९८ प्रतिशत तथा माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर