
नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ : माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको विशाल सम्भावना रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलन अझै पनि जनतामाझ प्रभावशाली रहेको बताए।
अध्यक्ष नेपालले भने, ‘नेपालमा वामपन्थी आन्दोलनको सम्भावना ठूलो छ। तर, अहिलेको अवस्थाले सिंगो राजनीतिप्रति नै जनतामा वितृष्णा पैदा गर्ने परिस्थिति सिर्जना भएको छ। कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्न सकेको भए र अवसरहरूको सही उपयोग गर्न सकेको भए, देशमा जनताले चाहेको ठूलो परिवर्तन सम्भव थियो।’
उनले देशको संकट समाधानका लागि कम्युनिष्ट पार्टीको भूमिका महत्वपूर्ण हुने धारणा राखे। ‘देश संकटमा परेको बेला कम्युनिष्ट पार्टी आवश्यक हुन्छ। जनताका समस्यालाई सम्बोधन गर्ने पार्टीलाई जनताले नै सम्मान गर्ने गर्छन्,’ उनले थपे।
अध्यक्ष नेपालले वर्तमान राजनीतिमा रहेको विसंगतिहरूको अन्त्य गर्दै सही दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार कम्युनिष्ट आन्दोलनले पाएको अवसरहरूको सदुपयोग गरेर देशमा जनताको चाहना अनुसारको परिवर्तन ल्याउन सकिन्छ।
उनले राजनीतिक दल र सरकारप्रति जनताको अपेक्षा सम्बोधन गर्न उनीहरू जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया