लागुऔषधको चङ्गुलमा युवापुस्ता !

कक्षा १२ को परीक्षा सकेर रोजगारीको खोजीमा रहेका १८ वर्षीय किरण धामी र उनका साथी रुविन तामाङ गत पुस २३ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परे । सुरक्षागार्डका रूपमा कार्यरत किरणका बुवा कल्याण धामी छोरा लागुऔषधको कसुरमा प्रहरीले नियन्त्रणमा पुगेदेखि बेचैन हुनुहुन्छ । दुःखकष्ट गरी हुर्काएको पढाएको छोरा लागुऔषधको कसुरमा पक्राउ परेपछि अब के कारबाही भोग्नुपर्ने हो भन्ने चिन्ताले रुविनको परिवारलाई पोलेको छ ।

काठमाडौँको महाराजगन्जस्थित खाडी बस्ती मार्ग (सुकुम्बासी टोल)मा बस्दै आएका रविन र किरण रोजगारी नपाएपछि बिस्तारै साथीभाइसँग बरालिँदै धूमपानको लतमा फस्दै गएका थिए । रुविनको कोठाबाट प्रहरीले फर्मास्युटिकल ड्रग्स र ५० हजार नगद बरामद गरेसँगै किरणलाई पनि नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगन्जले थप अनुसन्धान गरिरहेको जनाइएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गत भदौमा एक लाख ८० हजार ४३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित छ जना युवा पक्राउ ग¥यो ।

काठमाडौँको गोकर्णेश्वर­–७, माकलबारीबाट भदौ १८ गते पक्राउ परेका उदयपुर गाईघाटका श्रीबहादुर राईको साथबाट ३४ हजार पाँच सय थान ट्रमाडोल क्याप्सुल र कागेश्वरी मनहरा बाबाचोकबाट भदौ १९ गते पक्राउ परेका सर्लाही हरिपुर–१ का विपिनकुमार महतोको साथबाट प्रहरीले लागुऔषध ट्रमाडोल क्याप्सुल ५३ हजार नौ सय र नाइट्राजेपाम ८९२ थान बरामद गर्‍यो ।

भदौ ३१ गते काठमाडौँको मित्रनगरबाट नौ सय थान ट्रमाडोलसहित पर्वत महाशिला­–५ का बालकृष्ण अधिकारी र ८३ हजार थान ट्रमाडोल र नगद दुई लाख ५० हजार नगदसहित झापा अर्जुनधाराकी सम्झना रोका पक्राउ परे । गत असोज २ गते सो लागुऔषधका मुख्य कारोबारी बारा परवानीपुर–३ का प्रदीप सर्राफलाई ३० थान लागुऔषध ट्रमाडोल क्याप्सुलसहित प्रहरीले काठमाडौँको टोखा­–१० बाट पक्राउ गर्‍यो । यी केही प्रतिनिधि घटना मात्र हुन् ।

लागुऔषधको प्रयोग तथा कारोबारमा युवा पुस्ताको संलग्नता बढ्दै जाँदा नियन्त्रण र अनुसन्धानमा थप चुनौती बढ्दै गइरहेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो १० वर्षमा लागुऔषधको कारोबार र ओसारपसारको आरोपमा ३१ हजार ३६७ जना पक्राउ परेका छन् । यो सङ्ख्या वार्षिक रूपमा बढ्दो छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा देशभरबाट लागुऔषध कारोबारमा संलग्न एक हजार ८८० जना, पक्राउ परेका थिए । हरेक वर्ष यसरी पक्राउ पर्ने सङ्ख्या बढ्दै आव २०८०/०८१ मा चार हजार ३९९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेशकुमार आचार्यले लागुऔषधको कारोबार र प्रयोगमा युवापुस्ताको संलग्नता बढ्दै गइरहेकाले उत्पादन, ओसारपसार, कारोबार र प्रयोगकर्तामाथि निगरानी बढाइएको बताए ।

युवापुस्तालाई लागुऔषधको कुलतमा फस्न नदिन प्रहरीले समुदाय स्तरमा सचेतनासँगै प्रयोग र कारोबारमा कडाइ गरिरहेको र स्वयम् अभिभावक तथा समुदायस्तरमा गरिने प्रयास अझ प्रभावकारी हुने आचार्य बताउनुहुन्छ । लागुऔषधको कारोबारको असर कारागारसम्म पुगेको छ । देशभरका कारागारमा रहेका झन्डै २८ हजार कैदीबन्दीमध्ये करिब सात हजार लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा हाल एक लाख ३४ हजार व्यक्ति लागुऔषध प्रयोगकर्ता रहेको उल्लेख छ तर लागुऔषधविरुद्ध क्रियाशील संस्था नार्कोनन नेपालले भने नेपालमा सातदेखि आठ लाख सङ्ख्याको हाराहारीमा लागुऔषध प्रयोगकर्ता दाबी गर्दै आएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर