
पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ सञ्चालन नै हुन सकेनन्


काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् । अहिलेसम्म ‘फायर हाइड्रेन्ट’ लाई मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन ।
मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाभित्रका सडक किनारमा ‘फायर हाइड्रेन्ट’ ठड्याइएको थियो ।
दमकलमा पानी भर्न मिल्ने भएका कारण यो उपकरण २०७७ चैतमा काठमाडौँमा मेलम्चीको पानी ल्याउनुभन्दा अघि नै जडान गरिसकिएको थियो । ‘फायर हाइड्रेन्ट’ राखेसँगै कुनै स्थानमा आगलागीको घटना भयो भने दमकललाई पानीका लागि भण्डारण केन्द्र र खोलातिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको थियो ।
फुटपाथमा बटुवा ठोक्किने गरी जडित ‘फायर हाइड्रेन्ट’ मुख बन्द गरेर राखिनुपर्नेमा खुलै राख्दा यसका मुखमा चाउचाउ, जुस, खैनी, पानपरागका खोल कोचिएको देखिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अहिलेसम्म चक्रपथभित्र सिंहदरबार, बबरमहल, अनामनगर, रामशाहपथ, पुतलीसडकलगायत राजधानीको घनाबस्ती भएका क्षेत्रको २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । मेलम्चीको पाइपलाइन जडान हुने ठाउँको प्रत्येक पाँच/पाँच सय मिटरको दुरीमा ‘फायर हाइड्रेन्ट’ राख्ने लक्ष्य रहेको निर्देशनालयले जनाएको छ ।
चक्रपथभित्र थप २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने योजना छ । उपत्यकामा अन्य स्थानको तुलनामा चक्रिपथभित्र घनाबस्ती र आवादी भएको हुनाले पहिलो चरणमा यस क्षेत्रमा मात्र ‘फायर हाइड्रेन्ट’ जडान गर्न लागिएको हो । थप माग र आवश्यकताका आधारमा अन्य स्थानमा जडान गरिने निर्देशनालयको भनाइ छ । गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया